काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विट्सा) को सन् २०२२ –२४ कार्यकालको निम्ति कोषाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।
भाद्र अन्तिममा सम्पन्न वार्षिक साधारण सभाबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका चौरासिया यहि कार्तिक २२ गते बसेको कार्यसमितिको बैठकबाट कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसअघि उनी सन् २०१८–२० कार्यकालको निम्ति क्यान महासंघबाट प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित भएका थिए भने सन् २०२० – २२ कार्यकालमा कोषाध्यक्ष रहेका थिए । चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।
द नेशनल टेक एसोसियशन अफ मलेशिया (पिकोम) का अध्यक्ष डाक्टर शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशवाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा सञ्चार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।
विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्सा, विश्वको सूचना प्रविधि सम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ । चौरासियालाई कोषाध्यक्ष पदमा निर्वाचित भएका क्यान महासंघले सफल कार्यकालको कामना व्यक्त गरेको छ । साथै, विट्सामा उनको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवम् सुचना तथा सञ्चार प्रविधि–देश विकासको नयाँ रणनीतिक स्तम्भको रूपमा स्थापित गर्ने हाम्रो प्रयासमा मदत पुग्ने विश्वास गरेको जानकारी क्यानले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया