कथाको मागअनुसार कलाकार छान्छु: विराज भट्ट

काठमाडौं । केही हप्तादेखि अभिनेता विराज भट्टले फिल्म निर्देशन गर्ने कुरा सिनेमा क्षेत्रमा चलिरहेको छ । विराज आफै पनि फिल्म निर्देशन गर्ने भनेर लामो समयदेखि लागिपरेका छन् । अहिलेका चर्चित संगीकारलाई लिएर उनले फिल्मका गीतलाई फाइनल गरिसकेका छन् ।

कुनै बेला नेपाली फिल्ममा जमेका र पछिल्लो समय नेपाली सिनेमामा भन्दा भोजपुरी सिनेमामा देखिएका विराजले फिल्म ‘साङ्लो’ नामक सिनेमा निर्देशन गर्दैछन् । उनै विराजलाई हामीले सोध्यौँ – ‘सिनेमा बनाउने त भन्नुभएको छ, कस्तो बन्ला?’

प्रश्नको उत्तर दिँदै विराजले फिल्मको कथामा लभ, कमेडी, एक्सन र रोमान्स भएको बताए । उनको भनाइअनुसार विराजले बनाउने फिल्म आफूले पहिले खेलेका फिल्मको शैलीको हुनेछ । तर, विराजले भने पहिलेका भन्दा फरक स्वादको कथामा सिनेमा बनाउन चाहेका छन् ।

‘कथाको हिसाबले समग्रमा सबै खाले चीजलाई नितान्त व्यवसायिक, कमेडी, एक्सन, सस्पेन्स र म्यासेजसहितको सिनेमा बनाउँदै छु, रमाइलो सिनेमा बनाउने प्रयास गरेको छु’, विराजले भने, ‘कथा सुहाउँदो कलाकार लिन्छु, अहिले म विविध कारणले काठमाडौं बाहिर छु, काठमाडौं फर्किनासाथ हामी यसमा जुट्छौँ ।’

अहिलेसम्म भने विराजले कुनै पनि कलाकार नचुनेको बताए । उनले अहिलेको मार्केटमा काम गरेका कलाकारलाई लिएर सिनेमा बनाउने पनि बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?