पाल्पा । तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ ‘झिलियाँ’को व्यापार महिलाको राम्रो आम्दानीको स्रोत बनेको छ ।
तिहार पर्वमा बढी प्रयोगमा आउने झिनियाँ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक ढङ्गले महिलाले यो व्यवसाय अपनाएका छन् । पाल्पाको सदरमुकाम तानसेन, रामपुरलगायतका विभिन्न ठाउँका महिलाले यसको व्यापारबाट मनग्य कमाइ गर्न सफल भएका छन् ।
कम लगानीमा घरमै बसीबसी आम्दानी हुने भएपछि व्यावसायिक ढङ्गले झिनियाँको व्यापार गर्दै आएको रामपुर नगरपालिका–५ राङभाङकी मैयाँ श्रेष्ठ बताइन् ।
श्रेष्ठले यो व्यवसाय विगत ११ वर्ष अघिदेखि निरन्तर रुपमा गर्दै आइरहेकी छिन् ।उनीलाई अहिले झिनियाँ बनाउने र बिक्री गर्न भ्याइनभ्याइ छ । श्रेष्ठले विशेष गरी तिहार पर्वका बेला यसको बिक्रीबाट डेढ लाखसम्म आम्दानी गर्छिन् ।
“जब तिहारको चहलपहल शुरु हुन थाल्यो तब झिनियाँको व्यापार गर्दै ठिक्क हुन्छ”, उहाँले भन्नुभयो । अन्य बेला पनि व्यापार निरन्तर भइरहन्छ तर तिहारमा अत्यधिक बिक्री हुने हुँदा बनाउन भ्याइनभ्याइ रहेको श्रेष्ठले भनिन् ।
“लगानी खेर जान्छ कि भन्न नपर्ने, घरायसीधन्दा सँगसँगै दिनहुँ यसको बिक्रीबाट राम्रो आम्दानी भइरहन्छ”, उनी बताउँछिन् । अहिलेसम्म करीब ४० क्विन्टल जति तिहारका लागि मात्र बिक्री गरेको र ५० क्विन्टलसम्म बिक्री हुने अनुमान उनको छ ।
गत वर्ष रु डेढ लाखसम्म कमाइ गरेकी श्रेष्ठले यस वर्ष करीब दुई लाख जति कमाइ हुने आशा गरेकी छिन् । अहिले दैनिक ३ सय दर्जन बढी झिनियाँ बिक्री गछिन् ।
रामपुर नगरपालिका–४ मटेरी गोदामे चौतारी बस्ने लक्ष्मी श्रेष्ठ पनि तिहारका लागि झिनियाँ बनाउने कार्यमा व्यस्त छिन् । यसबाट राम्रै आम्दानी हुन थालेपछि बिगत तीन वर्षदेखि व्यावसायिकरुपमा यसको व्यापार गर्दै आएको उनी बताउँछिन् ।
तिहारमा उनले झिनियाँ बिक्रीबाट साढे दुई लाखसम्म आम्दानी गर्नुहुन्छ । “ग्राहकको माग बढ्दो छ, मागअनुसार झिनियाँ पु-याउनै सकिएको छैन” उनले भनिन् । तिहारका बेला माग बढ्ने हुँदा महिला कामदार राखेर झिनियाँ बनाउन थालेको बताउँछन् ।
यहाँ उत्पादन भएको झिनियाँ रामपुर बजारका अलावा पाल्पाका विभिन्न स्थानीय बजार, स्याङ्जा, तनहुँ, बुटवललगायतका स्थानमा बिक्री हुने गरेको छ । करीब २५/३० हजारको लगानीमा मनग्य आम्दानी गर्न सकिने भएपछि महिलाका लागि यो व्यवसाय आम्दानी गर्ने राम्रो स्रोत बनेको छ ।
यहाँ उत्पादन भएको झिनियाँ आकारअनुसार प्रतिदर्जन ६० देखि ७० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । चामलको पीठोलाई पकाएर यन्त्रको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ ।
विशेषगरी पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने यो हिजोआज भने अन्य समयमा पनि बिक्री हुने गरेको पाइएको छ ।
जनजाति वर्गको शुभकार्य तथा पूजाका समयमा अनिवार्य जस्तै भएको झिनियाँ पछिल्लो समयमा सबै वर्ग, सबै जातजातिमा प्रयोग हुन लागेपछि यसको मागसमेत बढ्दै गएको हो । चामलको पीठोबाट सामान्य यन्त्रको प्रयोगबाट बनाइएको झिनियाँ घामको तातोमा सुकाएर तयार गरिन्छ । यस कार्यमा पुरुषको तुलनामा महिलाले बढी अग्रसरता देखाउँदै कुटिर उद्योगका रुपमा झिनियाँ रोटी बनाउने गरेका छन् ।
झिनियाँ बनाउने सीप र प्रविधि स्थानीय नै हो । त्यसलाई आवश्यक पर्ने कच्चापदार्थ चामलको पीठो पकाएर तातो पीठो यन्त्रमा राखेर बनाइने झिनियाँ जिल्लामा छरिएर रहेका व्यवसायीले तिहार पर्वको अवसरमा मात्रै झण्डै दुई करोडभन्दा बढीको निर्यात गर्दै आएका छन् ।
तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजपर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा पनि यसको प्रयोग हुन थालेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया