मासिँदै संस्कृति, इलेक्ट्रिक लाइट भर्सेस दियो

हिन्दु धर्मावलम्बीहरुले पूजाआजाको समय तथा शुभ साइतका बेला माटोको दियोमा बत्ती बाल्ने गर्छन् ।

उज्यालोको पर्व तिहारमा घर झिलिमिली पार्न बिजुलीका अनेक प्रकारका बत्तीहरूको प्रभाव बढेपछि माटाका पालाको महत्व केही घटेको अनुभव गर्न थालिएको छ । सिधै भन्दा झिलिमिली बत्तीले पालालाई ओझेलमा पारेको छ ।

वर्षौंदेखि माटाका भाँडा बनाउँदै आएका भक्तपुरका प्रजापति समुदाय यतिबेला तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन व्यस्त भएका छन् । लक्ष्मीपूजा नजिकिँदै गर्दा भक्तपुर दरबार क्षेत्र वरिपरि माटोको दियो बनाउहरु देख्न सकिन्छ । हुन त त्यस क्षेत्रमा सधै माटोको दियो, भाडा बनाउनेहरु भेटिन्छन् तर अन्य समयको तुलनामा दशैं र तिहारमा दियो बढी खपत हुने भएकाले उनीहरु दियो बनाउन व्यस्त छन् अहिले ।

तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने भिलिमिली बत्ती हो । मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालिने दियोको महत्व विशेष छ । यद्यपी अहिले परम्परागत दियोको आकर्षण केही घटेको छ । 

भक्तपुर दरबार स्क्वायरका ७४ वर्षीय गणेशभक्त प्रजापती बिहान उठेदेखि साँझसम्म माटोको दियो बनाउन व्यस्त छन् । दियो बनाएरै फुर्सद नपाउने प्रजापतीले सानै देखि माटोको दियो पाला बनाउने गरेका हुन् । उनको बुबाले पनि त्यही काम गर्ने भएकाले पनि उनमा त्यस कलाको विकास भएको उनको भनाइ छ । 

उनको तीन जना छोरी छन् । उनको छोरीहरु पनि माटोको पाला, दियो बनाउन एक्सपर्ट भइसकेका छन्  । उनले भने, ‘छोरीहरु सबैजना दशैँ अघिदेखि नै दियो बनाउने काममा व्यस्त छन् । र, व्यापार केही घटेको छ ।’

माटोको पाला बनाउनु उनीहरुको परमपरागत पेशा भएकाले पनि एक पछि अर्को पुस्तामा हस्तान्तरण हुँदै गएको छ । अरु बेलामा त्यति बिक्री नहुने भएपनि तिहारको बेलामा बिक्री गराउन खासै समस्या हुने नगरेको उनले बताएका छन् ।

तर पछिल्लो समय प्लाष्टिकका सामाग्री तथा विद्युतीय समाग्रीका कारण माटोका सामाग्रीहरुको माग घट्दै गरेको गणेशभक्त बताउँछन् । माटोका सामाग्री बनाउँदा बढी मेहनत पर्ने,केही महंगो पर्ने भएकाले माग घटेको उनीहरुको भनाइ छ । यही पेशाको भरमा जिवन चलाउनु पर्ने भएकाले चिन्ता बढेको उनी बताउँछन् । 

माटोको काम गर्नेहरुले पछिल्लो समयमा माटो मुछ्न र चक्र चलाउन मेशिनको प्रयोग गर्न थालेका छन् । तर पनि माटोको काम गरेर जिवीकोपार्जन गर्न नसकिने भन्दै युवाहरु वैैकल्पिक पेशामा लाग्न थालेको उनको भनाइ छ । 

बजारमा आइपुग्दा माटोको पालाको मूल्य ५ रुपैयाँ देखि शुरु हुने गरेको छ भने उनीहरुले बेच्दा ३ रुपैयाँमा बेच्ने गरेका छन् । यसरी माटोको पाला बनाउनेहरुलाई खासै फाइदा नहुने उनले बताए ।परम्परागत चक्रमा दैनिक पाँच सयदेखि एक हजार दियो बनाउन सकिने तर बिजुलीबाट चक्र चलाउँदा भने दुई हजारभन्दा बढी बनाउन सकिने उनले जानकारी दिए । 

तिहारका लागि यति नै  बिक्री हुन्छ भनेर उनले अन्दाज लगाउन सकेनन् । तर, उनका अनुसार आम्दानी पहिलाको तुलनामा घटेको पक्कै हो । 

***
त्यस्तै, विगत ७ वर्षदेखि इलेक्ट्रोनिक्स पसल  चलाइरहेकी रोहिणी खत्री हरेक तिहारमा झिलिमिली बत्ती पनि बेच्ने गर्छिन् । उनका अनुसार हरेक वर्ष व्यापारमा वृद्धि भइरहेको छ ।

दिन प्रतिदिन मानव वस्तीको चाप बढ्दै गएको र झन्झन् ठूल्ठूला घरहरुको निर्माण भइरहेकाले पनि तिहारमा झिलिमिलीको ‘डिमान्ड’ पहिलाको भन्दा बढेको हो ।

यसै वर्षमात्र चीन र भारतबाट ६० करोडको झिलिमिली भित्रिनुले पनि यही सङ्केत गर्छ कि आधुनिक बत्तीले पारम्परिक दियोलाई ‘छायाँ’मा पारेकै हो । रोडिणी भन्छिन्, ‘देखासिकी गरेरै पनि घरभरि झिलिमिली लगाउने चलन बढेको छ । त्यसैले व्यापारबाट राम्रै आम्दानी भइरहेको छ ।’   

तस्वीर : सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?