फरार अभियुक्त २३ वर्षपछि पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उदयपुरको रामपुर गाविस–२ का नारायण शाहको हत्या गरेर फरार सुनसरी प्रकाशपुर–५ का राजेन्द्र राईलाई २३ वर्षपछि पक्राउ गरेको छ ।

राईलाई सिआइबीको टोलीले सुनसरीको बराह नगरपालिका–३ ठाकुरबारीबाट पक्राउ गरेको हो । अभियुक्त राईले २०५२ कात्तिक ४ गते उदयपुरको रामपुर–२ कोशीटप्पुमा रहेको एक नर्सरीमा काम गर्ने शाहलाई मुक्का र लाठीले हिर्काउदा मृत्यु भएको थियो ।

राईविरुद्ध सर्वोच्च अदालतले २०६० चैत ५ गते जन्मकैदको फैसला गरेको थियो । शाहको हत्यालगत्तै राई फरार रहँदै आएका थिए । अभियुक्त राईलाई कैद भुक्तानका लागि जिल्ला कारागार उदयपुर चलान गरिएको सिआइबीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?