सिन्धुपाल्चोक-२ मा चुनावी माहोल रोचक बन्दै, बस्नेत र तामाङमा कसले मार्ला बाजी ?

आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिनगन्ती सुरु भइसकेको छ । राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्रसम्म आफ्ना एजेण्डा मतदातासामू राख्दै घरदैलो र आमसभामा व्यस्त छन् । गठबन्धन, मित्रवत् र हेभीवेट नेताबीचको प्रतिस्पर्धाले कतिपय निर्वाचन क्षेत्रको चुनावी परिदृश्य रोचक बन्दैछ ।

यही रोचक परिदृश्यको सेरोफेरोमा घुमेको छ, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ पनि । यहाँ प्रभावशाली नेताहरु चुनावी मैदानमा उत्रिएका कारण पनि यहाँको निर्वाचनलाई फरक ढंगले हेर्न थालिएको छ ।

जहाँ ०७० र ०७४ मा निर्वाचित एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । तामाङ यसअघिको जितलाई कायम राखेर ह्याट्रिक गर्ने दाउमा छन् । भने, बस्नेत यो क्षेत्रमा कांग्रेसको खाता खुलाउने ध्याउन्नमा छन् । ०७४ को निर्वाचनमा माओवादीको समेत मत पाएर विजयी भएका तामाङ यसपाली एक्लो छन् । यता बस्नेतलाई भने माओवादी र एकीकृत समाजवादीको बलियो साथ छ ।
सिन्धुपाल्चोक क्षेत्र नं १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नका लागि अग्निप्रसाद सापकोटा र बस्नेत दुवैको बलियो जिकिर थियो । सभामुखसमेत रहेका सापकोटा ०७४ मा बस्नेतलाई पराजित गरेर माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

सीट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक–१ पायो भने नेपाली कांग्रेसको भागमा सिन्धुपाल्चोक–२ पर्यो । १ नम्बर क्षेत्रमा माओवादीले माधवप्रसाद सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो । उता कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं २ मा बस्नेतलाई उम्मेदवार बनाउन बाध्य भयो । जिल्लामा राम्रो प्रभाव राख्न सक्ने नेताका रुपमा चिनिएका बस्नेत यसपाली चुनाव जित्ने रणनीतिमा छन् । क्षेत्र नम्बर १ लाई लामो समय राजनीतिक मैदान बनाएका बस्नेत क्षेत्र नम्बर २ मा परेको विभिन्न प्राकृतिक विपत्ति र महामारीका बेला सारथी बन्दै आए । जनताका सुखदुःखका सारथी बनेका बस्नेतलाई यसपाली सिन्धुपाल्चोक २ का जनताले चुन्न सक्ने धेरैको आँकलन छ ।

यता दुईपटक सांसद बनेका तामाङमाथि भने पार्टीभित्रबाटै केही गर्न नसकेको र विपत्तिमा परेका बेला जनतालाई केही पनि नगरेको आरोप छ । त्यसैले आसन्न निर्वाचनमा सिन्धुपाल्चोक २ का मतदाताले सांसद फेर्न सक्छन् । जसलाई पछिल्लो समय बस्नेतको पक्षमा देखिएको माहोलले पनि पुष्टि गर्छ ।

टिकट बाँडफाँडका बेला सिन्धु कांग्रेसभित्र अन्तरविरोध देखिएपनि अहिले जिल्लाका सबै कांग्रेसी नेताहरु मोहनको पक्षमा खुलेर मत माग्न हिँडेका छन् । साथै, अन्य पार्टीबाट पनि बस्नेतलाई समर्थन बढ्न थालेको छन् ।

यस्तो छ बस्नेत र तामाङको चुनावी इतिहास

राजनीतिक इतिहास र चुनावी प्रतिस्पर्धाको इतिहासलाई खोतल्ने हो भने बस्नेत र तामाङ उस्तै–उस्तै बिन्दुमा भेटिन्छन् । कांग्रेस नेता बस्नेतले प्रजातन्त्रको पुनर्वहालीपछि भएको ०४८ सालको निर्वाचनमै प्रतिस्पर्धा गरेका थिए । यद्यपि, उनी एमालेका अमृतकुमार बोहोरासँग पराजित भए । ०५१ को निर्वाचनमा बस्नेतलाई पार्टीले टिकट दिएन । तर, ०५६ को निर्वाचनमा भने बस्नेतले बोहोरासँग ०४८ को बदला लिए । त्यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्रीसमेत भए । उनी मन्त्री भएकै बखत मेलम्ची स्वास्थ्य केन्द्र बनेको थियो ।

त्यस्तै, बस्नेतको चुनावी इतिहासलाई हेर्दा उनले २०६४ को निर्वाचनमा पनि हार व्यहोरे । तर, ०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने जित निकाले । त्यही कार्यकालमा सूचना प्रविधि तथा सञ्चार मन्त्रीसमेत बने । तर, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने सभामुख अग्नीप्रसाद सापकोटासँग झण्डै १० हजार मतान्तरले पराजित भएका थिए ।
यता एमालेका उम्मेदवार तामाङ २०५६ सालयता निर्वाचन लड्दै आएका छन् । ०५६ को निर्वाचनमा तामाङ नेकपा मालेबाट सिन्धुपाल्चोक ३ मा उम्मेदवार बनेका थिए ।

यद्यपि, त्यस बेला उनलाई राप्रपाका नेता पशुपति शमशेर जवराले पराजित गरेका थिए । ०६४ को निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा निर्वाचन लडेका तामाङ तत्कालिन माओवादीका दावा तामाङसँग झिनो मतान्तरले पराजित भएका थिए । दावासँग उनी जम्मा ९८ मतले पराजित भएका थिए । निरन्तर चुनाव हार्दै आएका तामाङले तेस्रो प्रयास अर्थात ०७० को निर्वाचनमा भने जित निकाले । त्यसपछि देश संघियतामा गएपछि सिन्धुपाल्चोक २ वटा क्षेत्रमा समाहित भयो । त्यसपछि ०७४ को निर्वाचनमा २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका तामाङले जित दोहार्‍याए । यो बीचमा उनले कानुन मन्त्री र केही समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोरसमेत सम्हाले । तर, दुईदुईपटक मन्त्री हुँदासमेत आफ्नो क्षेत्रमा विकासका निम्ति पहल नगरेको जनगुनासो उनीमाथि लाग्ने गरेको छ ।

स्थानीय निर्वाचनलाई फर्केर हेर्दा…

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सिन्धुपाल्चोक–२ मा एमाले पहिलो दल बनेको थियो । एमालेले ३१ हजार सात सय ७६ मत पाउँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २९ हजार तीन सय दुई मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले पाँच हजार नौ सय ३२ र नेकपा एकीकृत समाजवादीले एक हजार ६ सय ६३ मत पाएको थियो । समग्रमा गठबन्धनको मत ४७ हजार ४२ हुन आउँछ । त्यसैले बस्नेतले चुनाव जित्न आफ्नो पार्टीको मत जोगाउन र माओवादीको मत एकोर्‍याउन सक्नुपर्छ ।
यो क्षेत्रमा पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्वु गाउँपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १, ५, ६, ७, ८ ११, १२, १३ र १४ पर्छ ।

जसमध्ये हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा कांग्रेसले जित हात पारेको छ । भने, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिकामा एमालेले जित निकालेको थियो । त्यस्तै चौतारा साँगाचोकगढी माओवादी केन्द्रले जितेको छ ।

प्रदेश ‘क’मा माओवादी र पूर्व माओवादीबीच भिडन्त

लामो समय माओवादीबाट राजनीति गरेका र हालै मात्र एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढीका पूर्व प्रमुख अमानसिंह तामाङलाई सिन्धुपाल्चोक २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएको छ । गठबन्धनकातर्फबाट नेकपा माओवादीका युवराज दुलाल साझा उम्मेदवार छन् । दुलाल यसअघि ०७४ मा पनि यसै प्रदेशबाट निर्वाचित सांसद हुन् । त्यसैले यो निर्वाचनमा दुलाल र तामाङबीच पनि गतिलो प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै सिन्धुपाल्चोक २ को (ख) बाट प्रदेशसभाका लागि सत्ता गठबन्धनबाट कांग्रेसका युवा नेता कृष्णकुमार तामाङ (समीर) चुनावी मैदानमा छन् । उनीसँग एमालेका हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् । पण्डित ०७४ को निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका निमा ग्याल्जेन शेर्पासँग पराजित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?