एनआईसी एशिया क्यापिटलले ल्यायो ९ सय ९९ मा लाईफटाइम डिम्याट खाता योजना सञ्चालनमा

लोकपथ
7
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटलले न्यून शुल्कमा आफ्नो ग्राहकहरुलाई उच्च कोटिको सेवा सुविधा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ पे वन टाईम फर्गेट फर लाईफ टाईम भन्ने नाराका साथ ९ सय ९९ रुपैयाँमा लाईफटाइम डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ । एकमुष्ठ भुक्तानी गर्दा आजीवन डिम्याट खाता सञ्चालन गर्न मिल्ने गरि डिम्याट खाता नविकरण योजना क्यापिटलले सञ्चालनमा ल्याएको हो ।

निक्षेप सदस्यमा डिम्याट खाता खोलि सेयरको कारोबार गर्ने खातावालाहरुले प्रत्यक वर्ष डिम्याट खाता नविकरण शुल्क वापत एक सय रुपैयाँ बुझाउनु पर्ने व्यवस्था रहेको तथा उक्त नविकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको सेयर निर्धारीत समयमा राफसाफ नभई हजारौं जरिवानासमेत भुक्तानी गर्नुपर्ने अवस्था रहेको देखिन्छ । हरेक वर्ष डिम्याट खाता नविकरण शुल्क भुक्तानी गर्नुपर्ने र नविकरण शुल्क भुक्तानी गर्ने प्रकृया निकै झनझटिलो रहेको हुँदा यस क्यापिटलले आफ्नो ग्राहकहरुलाई न्यून शुल्कमा आजीवन डिम्याट खाता नविकरण गरिदिने व्यवस्था मिलाएको छ ।

उक्त योजनाले नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नु पर्ने व्यवस्था गरिसकेको अवस्थामा बैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्तिहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोलि नविकरण गर्ने झनझटबाट मुक्त हुन सक्नेछन् ।

क्यापिटलको आजीवन डिम्याट खाता योजना एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंक लिमिटेको सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोली आजको मितिमा नविकरण शुल्क भुक्तानी गर्न बाँकी नरहेका सम्पूर्ण खातावालाहरु तथा नयाँ खाता खोल्ने ग्राहकहरुले समेत लिन सक्नेछन् । यस एनआईसी एशिया लाईफटाइम डिम्याट खाता नविकरण योजना अर्को सूचना जारी नभएसम्म सञ्चालन हुने र डिम्याट खातावालाहरुले आफ्नो खाता नविकरण भए तथा नभएको सम्बन्धी जानकारी क्यापिटलको वेभसाईटमा गई हेर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?