जसले विश्वकपमा पहिलो गोल गरे

विश्वकपमा पहिलो गोल गर्ने युद्ध बन्दी !

‘फस्ट आर नेभर फर्गटन’ । पहिलोपटक कसैले केही गर्छ भने त्यो कुरा सधैँ जीवित रहन्छ र चर्चा गर्न योग्य विषय बन्छ । यतिबेला नेपालमा निर्वाचनसँगै फुटबलको माहोल पनि तात्दैछ । जसरी मतदाताहरु आफ्ना पक्षका उम्मेदवारको समर्थनमा जुटेका त्यसैगरी फुटबलप्रेमीहरु पनि आफ्नो ‘फेभरेट’ टीमको गुनगान गाउन सुरु गरिसके ।

विश्वकप फुटबल प्रतियोगिता २२औँ संस्करणसम्म आइपुग्दा २००० भन्दा बढी गोल भइसकेका छन् । तर, पहिलो संस्करणमा पहिलो गोल गर्ने व्यक्ति को होलान् ? उनी हुन् फ्रान्सका लुसियन लरेन्ट ।

सन् १९३० मा विश्वकप पहिलोपटक उरुग्वेमा आयोजना भयो । उरुग्वेको राजधानी मोन्टेभिडियोको इस्टाडियो पोसिटोस रङ्गशालामा उद्घाटन भएको खेलमा फ्रान्स र मेक्सिकोविरुद्ध भएको थियो । खेल सुरु भएको १९ औँ मिनेटमा फ्रान्सका लुसियन लरेन्टले भलि गोल गर्दै विश्वकपमा पहिलो गोल गर्ने खेलाडीको रूपमा इतिहासमा नाम लेखे ।

‘जब मैले विश्वकपमा मेक्सिकोविरुद्ध गोल गरे म धेरै खुसी थिए । सबै जनाले मलाई बधाई दिएका थिए,’ लुसियन लरेन्टले विश्वकपपछि एक अन्तर्वार्तामा भनेका थिए ।

विश्वकपको पहिलो खेलमा पहिलो गोल गर्ने लुसियनल अर्जेन्टिना विरुद्धको दोस्रो खेलमा भने चोटका कारण जस्तो खेल्न सकेनन् । खेल चलिरहेको बेलामा उनको कुर्कुच्चामा चोट लागेको थियो । उक्त समयमा खेलाडी परिवर्तनको व्यवस्था थिएन । किकअफ भएपछि खेलाडीले ९० मिनेटसम्मै खेल्नुपर्ने हुन्थ्यो । उनले चोटका बावजुत पनि अर्जेन्टीनाविरुद्ध खेलिरहे ।

Lucien Laurent (Photo Credit: Twitter)

पहिलो खेलमा मेक्सिकोलाई ४–१ ले पराजित गरेको फ्रान्स अर्जेन्टिनासँग भने १–० गोल अन्तरले पराजित हुन पुग्यो । चोटकै कारण उनले तेस्रो खेल भने गुमाउनु पर्‍याे । चिलीसँगको तेस्रो र अन्तिम खेलमा उनी प्लेइङ सेटमा परेनन् । यो खेलमा फ्रान्स १–० गोलले पराजित भएर घर फर्कियो ।

विश्वकप खेल्न दुई सातासम्म डुङ्गामा यात्रा

फ्रान्सको फुटबल टोली दुई सातासम्म डुङ्गाको यात्रा गरेर उरुग्वेमा पहिलो विश्वकप फुटबल प्रतियोगिता खेल्न गएको थियो । सन् १९३१ ईङ्ग्ल्याण्डविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका लुसियनले १९औँ मिनेटमा मेक्सिकोविरुद्ध गरेको प्रहार गरेको बल नेटमा छुँदा विश्वकपकै पहिलो गोल हुने छ भन्ने कुरामा विश्वस्त हुन सकेका थिएनन् ।

‘त्यसबेला मैले गरेको त्यो गोलको महत्वको अझैँ पनि म कल्पना गर्न सक्दिनँ,’ लरेन्टले भनेका थिए, ‘त्यो बेलाको परिस्थिति र विश्वकप खेल्न गर्नुपर्ने यात्रा आदिलाई हेर्दा उरुग्वे पछि विश्वकप फुटबल प्रतियोगिताले निरन्तरता पाउँछ भन्ने विषयमा खेलाडीहरू विश्वस्त हुन सकेका थिएनन् ।’

Lucien Laurent, the first World Cup goalscorer

लरेन्ट विश्वकप फुटबलको सम्झना यसरी गर्छन्, ‘प्रतियोगिता भाग लिन हामी पानीजहाजमार्फत उरुग्वे गयौँ । हामीलाई उरुग्वे पुग्न दुई साता लाग्यो र हामीले हरेक बिहान पानीजहाजकै डेकमा प्रशिक्षण गर्थ्यौँ, त्यसपछि दौड र दिउँसो आराम गर्नुपर्थ्यो ।’

इटालीले सन् १९३४ मा आयोजना गरेको दोस्रो विश्वकपमा पनि फरवार्ड लुसियनको नाम टिममा थियो । तर, चोटका कारण उनी यो विश्वकपको मैदानमा उत्रिन पाएनन् । ‘राउन्ड सिक्सटिन’ को ‘फरम्र्याट’ मा आयोजना भएको यो विश्वकपमा छनोट भएका ३२ राष्ट्रलाई एकैपटक नक आउट चरणमा खेलाइयो । जसमा फ्रान्स अस्ट्रियासँग पराजित भएर पहिलो खेलबाटै घर फर्कियो ।

तीन वर्ष युद्ध बन्दी

लरेन्टेले तीन वर्ष युद्ध बन्दीको रूपमा बिताएका थिए । दोस्रो विश्वयुद्धको बेला उनी फ्रान्सेली सेनामा भर्ती भएका थिए । जर्मन सैनिकहरूले उनलाई स्याक्सनीमा बन्दी बनाएका थिए । उनीहरूले उनको १९३० को विश्वकपमा लगाएको जर्सी पनि चोरेका थिए । युद्ध बन्दीको रूपमा तीन वर्ष बिताएपछि उनी सन् १९४३ मा रिहा भएका थिए ।

१९३० को सपना १९९८ मा पूरा

फ्रान्स पहिलो विश्वकपमा सहभागी भएपनि पहिलोपटक फाइनलमा भने १९९८ मा मात्र पुग्यो । १९९८ मा विश्वकप फ्रान्समा नै आयोजना भएको थियो । घरेलु मैदानमा फ्रान्सले पहिलोपटक विश्वकपको उपाधि चुम्यो ।
विश्व कपको पहिलो गोल गरेदेखि युद्ध बन्दीको रूपमा बाँचेका लरेन्टेले फ्रान्सले घरेलु भूमिमा १९९८ को विश्वकप जितेको पनि देखे । १९९८ मा फ्रान्सले विश्वकप जित्दा १९३० फ्रान्सेली टोलीको एक मात्र जीवित सदस्यका रूपमा उनी मात्रै थिए ।

Mondial: de Lucien Laurent à Zinedine Zidane, 80 ans d'images marquantes - ladepeche.fr

उनको फुटबल यात्रा

अगस्ट १ (१९३०) ब्राजिल-३ फ्रान्स-२
२३ फेब्रुअरी (१९३०) पोर्चुगल-२ फा्रन्स-०
१३ अप्रिल १९३० फ्रान्स-१ बेल्जियम-६
१३ जुलाई १९३० मेक्सीको-१ फ्रान्स-४
१५ मार्च १९३१ फ्रान्स-१ जर्मनी-०
१४ मे १९३१ फ्रान्स-५ इङल्याण्ड-२
२९ नोभेम्भर १९३१ फ्रान्स-३ नेदरल्याण्ड-४
२० मार्च १९३२ फ्रान्स-३ स्वीजल्र्याण्ड-३
१० अप्रिल १९३२ फ्रान्स-१ इटाली-२
१९ मे १९३५ फ्रान्स-२ हङगेरी-०

लुसियन लरेन्टको ११ अप्रिल, २००५ मा ९७ वर्षको उमेरमा निधन भयो । उनले फ्रान्सका लागि १० खेल खेले र दुई गोल गरे । उनले विश्वकपको इतिहासमा खेलेको भूमिकाका लागि सधैँ सम्झिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?