खेलाडीको तिहार : को कसरी मनाउदैछन् ?

काठमाडौं । नेपालीहरुको महान चाड तिहारले छपक्कै छोएको छ । सबै जनाले आ-आफनो तरिकाले तिहार मनाउने तयारी गरिरहेका छन् । नेपाली खेलाडीहरु पनि वर्षमा एक पटक आउने तिहारलाई रमाइलोका साथ परिवारमा मनाउने योजनामा छन् । 

पारस खड्का-कप्तान, नेपाली क्रिकेट

‘सर्वप्रथम सबै नेपालीहरुलाई तिहारको शुभकामना दिन चाहन्छु, मैले मनाउने तिहार र सर्वसाधारणले मनाउने तिहारमा त्यस्तो केही भिन्नता छैन, अरुले जसरी मनाउँछन्, मैले पनि त्यसरी नै मनाउने हो, तिहारको बेला सबैतिर झिलीमिली हुन्छ, त्यतिबेला चाँही काठमाडौं साँच्चिकै सिगारिएको दुलही जस्तै लाग्छ, चारैतिर तिहारले ल्याएको छुट्टै रौनकता त्यसमा देउसी, भैली खेल्नेहरुको चहल पहल, त्यतिबेला निक्कै रमाइलो लाग्छ, यसपाली भक्तपुरमा रहेको मेरो फुपुको छोरी ‘बहिनी’ बिश्ता बस्नेतको हातबाट भाइटिका लगाउँछु, परिवारसँग भेटघाट, रमाइलो गर्छु ’ 

रोशनी राई-बक्सिङ खेलाडी

'यो पालीको तिहार ‘ब्लास्ट’ तरिकाले मनाउँदै छु, गत वर्ष हजुरआमा नेपालमा हुनुहुन्नथ्यो, तर यो वर्ष ‘युके’बाट आउनु भएको छ, त्यसैले पनि यो तिहार मेरो लागि विशेष छ, म खेलाडीको होला चाडपर्व मलाई रमाइलो लाग्छ, अरु बेला दैनिक ट्रेनिङ गर, च्याम्पियनसिपको लागि तयारी गर, यसरी नै मेरौ दैनिकी बित्छ, यस पालीको तिहारमा दाजु डेभिड राईसहित ४ जनालाई भाइटिका लगाउने तयारी गर्दैछु'

'निधारमा लगाउने सप्तरङगी टिका, गलामा लगाउने सयपत्री र मखमली फुलको मालाले दाजुभाईलाई लगाउँदै दिर्घायुको कामना गर्न पाउँदा निक्कै खुशी लाग्छ, देउँसी भैलो नखेलेको २ वर्ष हुन लाग्यो, पहिले-पहिले मज्जाले भैलीमा कम्मर मर्काएको यादा आउँछ, तर अहिले भैली त्यति खेल्न मन लाग्दैन्, लक्ष्मी पुजाको दिनसम्म मेरो ट्रेनिङ छ, आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने सपना पुरा गर्नु परेन्, त्यसैले कडा मिहिनेत गरिरहेकी छु'

भरत खवास-राष्ट्रिय फुटबल खेलाडी

 

‘मलाई दशैँ भन्दा तिहार अलि मन पर्छ, मोरङ जिल्लाको हरैचापताममा मेरा घर पर्छ, यसपाली दशैँमा घर जानै पाइन त्यसैले तिहार मनाउन घर जादैछु, खेलाडी भएपछि जिन्दगी नै फुटबलमा बित्छ, हाल शहिद स्मारक ‘ए’ डिभिजन लिगमा व्यस्त छु, आफ्नो क्लबलाई कसरी शिर्ष स्थानमा पु-याउने भन्ने तयारी गरिरहेको छु, चाँडै नै लिग पुनः शुरु हुँदैछ'

'चारको दिनको छुट्टीमा शरिरलाई आराम पनि मिल्ने, त्यहि भएर घर जादैछु, तिहारको बेलामा चारैतिर झिलीमिली बत्ति बलेको हुन्छ, देउँसी भैलो खेल्ने, नाचगान गरेको हेर्न मलाई खुब मन पर्छ, सानो बेलामा म पनि मज्जाले देउँसी खेल्थे, चार जना साथी बटुलेर छिमेकीको घरमा देउँसी खेल्न गइन्थ्यो'

'देउँसी भट्याउने जहिले म हुन्थे, अहिले पनि भट्याउन आउँछ, त्यतिबेला खुब रमाइलो गरिन्थ्यो, त्यति बेलाको याद सधै सम्झना आउँछ, मेरो दिदीबहिनी कोही पनि छैन, परिवार दाजु र म मात्रु हुँ, भाइटिका चाँही फुपुको छोरी ‘दिदी’ शोभा खवासको हातबाट ग्रहण गछौँ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?