काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिएका छन् ।
भर्चुअल माध्यमबाट आज देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तोसुकै चुनौतीको सामनाका लागि तयार हुन पनि आग्रह गरे ।
उनले निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनै पनि कमि कजोरी भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताए ।
अर्यालले सवारीसाधनको उचित प्रयोग, त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४सै घण्टा क्रियाशील रहन सशस्त्र प्रहरी कर्मचारीलाई अनुरोध गरे । राष्ट्रको यस महान अभियानमा उच्च मनोबल र हौसलाका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिँदै उनले भने, ‘निर्वाचनका बेला सुरक्षा कमीकमजोरी क्षमा हुने छैन ।’
निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्यभन्दा सामान्य त्रुटी आफूले सुन्न र देख्न नचाहेको उनले बताए । महानिरीक्षक अर्यालले बन्दोबस्ती लगायत अन्य भौतिक व्यवस्थापन भइसकेको जानकारी गराउँदै उच्चतम र भरपूर प्रयोग गर्न निर्देशन दिए ।
सो क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिँदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरलाई जानकारी गराए थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया