मकवानपुर क्षेत्र नं २ मा दुई पक्षीय प्रतिस्पर्धा

लोकपथ
35
Shares

मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि पाँच दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले), राप्रपा, नेपाली कांग्रेस (बिपी) र नेपाल मजदुर किसान पार्टीलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका छन् ।

उनीहरूले घोषणापत्रसहित प्रतिबद्धताहरू मतदाताकाबीच पु¥याउँदै आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिहेका छन् ।  मकवानपुरको क्षेत्र नं २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव विरोध खतिवडा र एमालेका तर्फबाट मेहश बर्तौलाबीच दुई पक्षीय प्रतिस्पर्धामा हुने देखिएको छ ।

यसैगरी, राप्रपाका तर्फबाट राजन मैनाली, कांग्रेस (बिपी) को भरत पराजुली, नेपाल मजदुर किसान पार्टीका तर्फबाट रत्नप्रसाद प्रजापति मतदाता समक्ष पुगिरहेका छन् । यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नं २ (१) प्रदेश सभातर्फ सत्ता गठबन्धनका तर्फबाट कुमारी मोक्तान र २ (२) बाट इन्द्रबहादुर बानियाँ तथा एमालेका तर्फबाट २ (१) बाट विष्णुप्रसाद ढकाल र २ (२) बाट लालबहादुर थापाबीच प्रतिस्पर्धामा छन् ।

जिल्लाको क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ जना मतदाता रहेका छन् । जसमध्ये पुरुषतर्फ ७८ हजार पाँच सय ९८, महिलातर्फ ७१ हजार नौ सय ७९ र तेस्रोलिङ्गी एकजना रहेको बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर क्षेत्र नं २ मा एक सय ९२ वटा मतदान केन्द्र तोकिएको सो कार्यालयले जनाएको छ ।

मकवानपुरको क्षेत्र नं २ मा थाहा नगरपालिका, मनहरी, भीमफेदी, कैलाश, राक्सिराङ, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिकाको आधा भाग र हेटौँडा उपमहानगरपालिकाको वडा नं १, ३, ११ र १९ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको क्षेत्र नं २ को प्रतिनिधिसभामा १० र प्रदेशसभामा १९ जना गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारले घरदैलोमा पुगेर मतदातालाई आगामी दिनमा दुर्गम भेगका मतदातालाई पिउने पानी, स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको अवसर दिलाउने, कृषि उत्पादनलाई बजारसम्म पु¥याउने जस्ता प्रतिबद्धता जनाएका छन् ।

विगतको अवस्थालाई विश्लेषण गरेर यो निर्वाचनमा उम्मेदवारको इमान्दारिता र दीर्घ राजनीतिलाई मात्र हरेर मतदान गर्नुपर्ने अवस्था आएको मकवानपुरगढी वडा नं ४ निवासी भरतप्रसाद पुडासैनीले प्रतिक्रिया दिए । क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडा तत्कालीन एमालेका तर्फबाट विसं २०४८, २०५१, २०५६ र २०७४ मा गरी चार पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् ।

उनी एक वर्षअघि समाजवादीका तर्फबाट जनसंख्यामन्त्री समेत भइसकेका छन् । मकवानपुरमा क्षेत्र नं १ बाट २०५१ सालमा राप्रपाका तर्फबाट कमल थापा निर्वाचित भएका थिए । यसैगरी, विसं २०७० मा कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार रहेकी कांग्रेसका सह–महामन्त्री महालक्ष्मी उपाध्याय मन्त्री भइसकेकी छन् ।

उनी मकवानपुर क्षेत्र नं १ बाट २०७० सालमा संविधानसभाको सदस्यमा निर्वाचित भई २०७३ सालमा नागरिक उड्डयन तथा संस्कृति राज्यमन्त्री र गृह राज्यमन्त्री भइसकेकी छन् । मकवानपुरमा कूल मतदाता संख्या तीन लाख ७५८ मतदाता संख्या रहेको र तेस्रोलिङ्गी समूहका पाँचजना रहेको क्षेत्र नं. २ का निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले जानकारी दिए ।

मकवानपुरको क्षेत्र नं १ मा एक सय ७२ र २ मा एक सय ९२ वटा गरी तीन सय ६४ वटा मतदान केन्द्रहरू रहेका छन् । यसैगरी, जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्रहरु तोकिएको छ । जसमा कैदीबन्दीका लागि भीमफेदी कारागार र निजामती कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोग बागमती प्रदेशको कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?