यस्तो छ नायिकाहरुको तिहार योजना

काठमाडौं । पाँच हिन्दू नेपालीहरुको दोस्रो महान पर्वका रुपमा लिइने तिहारको रमझम शुरु भइसकेको छ । तिहारमा देउसी भैलो खेल्ने, दिदीबहिनीको हातबाट दाजुभाइले टीका लगाउने प्रचलन छ ।

हिन्दू धर्मका अनुसार दिदीबहिनीले तिहारमा टीका लगाइँदिदा शत्रु नाश हुने र दाजुभाइको आयु बढ्ने विश्वास गर्ने गरिन्छ । तिहारको रौनकले कलाकारलाई पनि छोइसकेको छ । काठमाडौंको झिलिमिलीमा सेलिब्रेटीले पनि आफूलाई रंगाउन थालेका छन् ।

यस वर्षको तिहारलाई कसरी मनाउँदै हुनुहुन्छ भनेर हामीले पाँच जना नायिकाहरुलाई सोधेका थियौँ ।

निकिता चन्दक
मेरो लागि दिपावली विशेष पर्व पनि हो । हामीले दशैँ चाहिँ मनाउँदैनौँ । तिहारलाई हाम्रो मारवाडी समुदायमा विशेष रुपमा मनाउने गरिन्छ । गतवर्ष मिस वल्र्डका कारण दिवालीमा म घर जान पाइन । यसपटक दिवाली (दिपावली) मनाउन जन्मघर उर्लाबारी (मोरङ जिल्ला) जाँदैछु । त्यहाँ रमाइलो पनि उत्तिकै हुन्छ ।

आफ्नो भाइ सञ्जु मात्र भए पनि अंकलका छोराहरुलाई पनि टीका लगाइदिने गर्छु । मलाई यो पर्व सबैभन्दा बढी मन पर्ने चाड पनि हो । तिहारमा खेलिने भैलोले पनि उत्तिकै रोमाञ्चक बनाउँछ । घरमा आएका भैलेसँग हामी परिवार पनि नाच्ने गर्छौं । बच्चा बेलामा भैली खेल्दै हिँडिन्थ्यो । अहिले चाहिँ घरमा आएका भैलीसँगै रमाइलो गरिन्छ ।

स्वेता खड्का

यसपटक पनि तिहार सधैझैँ गरी मनाउँछु । यो वर्ष कान्छो भाइ अस्ट्रेलिया गएकाले उसलाई टीका लगाइदिन पाउँदिन । तिहार मलाई किन पनि विशेष लाग्छ भने, यो बेलामा आफूले परिवारलाई समय दिन सकिन्छ । घरमा मैले बनाएका भाइहरु र आफ्नै भाइहरु गरी पाँच जनालाई टीका लगाइदिँदै छु यसपटक ।

तिहारमा तास खेल्दा निकै रमाइलो लाग्ने हुनाले पनि हामी परिवार बसेर तास खेल्ने गर्छौँ । टीका लगाउनासाथ हामी तास खेल्न बसिहाल्छौँ । आफ्नै घरमा बस्ने, घरमा आएका भैलेहरुसँग देउसी खेल्ने पाइने भएकाले पनि तिहार मेरा लागि विशेष चाड हो ।

दीपाश्री निरौला
मलाई यो चाडले विशेष रमाइलो दिन्छ । गाउँमा अझ रमाइलो हुने भएकाले भाइटीका मनाउन म विराटनगर जाँदैछु । मेरा दुई भाइहरु गोपाल र अतीतलाई टीका लगाइदिँदै छु ।

तिहारकै लागि भनेर विराटनगर जान लागेकी हुँ । तिहारको अझ विशेष रमाइलो पक्ष के लाग्छ भने देउसी भैलो खेल्न आएकासँग रमाइलो गर्न पाइन्छ । प्रायः देउसी भैलोमा त आफ्नै गीत बजिरहेको हुन्छ । त्यो बेला झन् आनन्द लाग्छ । मेरा लागि तिहार रंगीन चाड हो ।

वर्षा राउत


तिहारको त्यस्तो खासै विशेष योजना नै त केही छैन । पहिले देउसी खेलिन्थ्यो । अहिले त्यति खेलिन्न । आफ्नै भाइहरुसँग अंकलका भाइहरुलाई पनि टीका लगाइदिँदै छु । तिहारका लागि गरिने शपिङ र अरु देउसी खेलेको विशेष रमाइलो लाग्छ ।

वर्षा शिवाकोटी
लक्ष्मीपूजाको दिन घरमा रमाइलो गरिन्छ । पूजा गरिन्छ । यसपटक पनि मैले दाइलाई टीका लगाइदिँदै छु । अंकलका छोराहरुलाई पनि लगाइदिन्छु होला । तिहारमा टीका लगाएपछि चाहिँ हामी घरका मान्छे बसेर तास खेल्ने गर्छौं । रमाइलो गर्छौं । परिवारसँग रमाइलो गर्न पाइने भएर पनि तिहार मलाई रमाइलो लाग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?