हराउँदै नचरी नाच, मौलिक नाचलाई युवापुस्ताले काँध थाप्न छाडे

काठमाडौं । केही वर्षअघिसम्म मगर समुदाय र गाउँघरमा मात्र सीमित सोरठी नाच अहिले समग्र नेपालीको साझा संस्कृति बनेको छ । दिपावली नजिकिँदै गर्दा यस्ता सोरठी, नचरी, मारुनीका नामले चिनिने मौलिक नाचसञ्चार माध्यममा गुञ्जिन थालेका छन् भने टोल–छिमेकमा पनि देखाइन थालेका छन् । तर, पहिलेको तुलनामासांस्कृतिक महत्त्व बोकेको नचरी नाच लोप हुने अवस्थामा छभन्ने प्रश्न पनि उठिरहेका छन् । संगीतका लागि डिजिटल प्लेटफर्म बनेको युट्युबमा खोजी गर्ने हो भने नचरी नाच धेरै भेटिँदैनन्, सीमित नचरी नाचहरु लाखौँले हेरेका छन् ।

गायक तथा सर्जक नारायण रायमाझी पछिल्लो समय संगीतको विकल्पमा अन्य गीत आएसँगै नचरी, सोरठीजस्ता नाच लोप हुँदै गएको बताउँछन् । उनका अनुसार नचरीलाई ठाउँअनुसार फरक–फरक नाममा पुकारिन्छ, तर नाचको प्रकृति एउटै हुन्छ ।

मगरसमुदायमा बढी प्रयोग हुने यो मौलिक नाच पछिल्लो समय राष्ट्रिय स्तरमा बहसको विषय त बन्न पुगेको छ । तर पुस्ताले आफ्नो संस्कृतिलाई अङ्गाल्न नखोज्दा यसको जगेर्ना गर्न सकस देखिएको रायमाझी बताउँछन् । ‘पहिलेको तुलनामा धेरै स्रष्टा अहिले हुनुहुन्न, भुपेन्द्र सलामी मगर लगायतले यसको जगेर्ना गर्नुपर्छ भनेर लाग्नुभएको थियो, अहिलेका पुस्तामा त्यो जिम्मेवारी देखिँदैन, गाउँघरतिर त लगभग हराइसकेको छ’, रायमाझी भन्छन्, ‘कहीँकतै यसको अझै पनि उत्तिकै प्रयोग होला तर अहिले यो मौलिक नाच लोपोन्मुख अवस्थामा छ ।’
ठाउँअनुसार यो नाचलाई गुरुङ समुदायले पनि नाच्ने गर्दछन् ।

सोरठीलाई पहिले विशेष संस्कृतिका रुपमा लिने गरिन्थ्यो । सोरठी मात्र होइन, यस्ता मौलिक संस्कृतिको जगेर्नामा युवापुस्ता सचेत नभएको मौलिक संस्कृतिमा रुचि राख्नेहरूले बताउँदै आएका छन् ।

ठाउँअनुसार सोरठी, फुर्सुङ्गे, पुख्र्यौली नाच, पाङ्दुरे नाच, मारुने भनिने एउटै प्रकृतिको नाचलाई कतै भने कृष्णचरित्र नचरी पनि भन्ने गरिन्छ । लोकगायक दुर्गा रायमाझीका अनुसार पाल्पातिर कुमाल समुदायमा यसलाई पाङ्दुरे नाच भन्ने गरिन्छ । ‘गीतमा कृष्णको भजन गाउने, जयसिङ्गे राजा र हेमती रानीको कथा र महाभारतका किस्सा पनि सुनाउने गर्छन्’, दुर्गा रायमाझी थप्छन्, ‘रातभरि गाउनुपर्ने भएर पनि होला, भेगअनुसार सबैले फरक र आफ्नै तरिकाले सबै कुरालाई छोएर गीत गाएको पाइन्छ ।’

नचरीलाई खासगरी मगर समुदायको मौलिक संस्कृति भनिए पनि गण्डकी प्रदेशका कतिपय ठाउँमा गुरुङहरूले पनि सोरठीका रुपमा यही प्रकृतिको नाच नाच्ने गर्छन् । दुर्गा रायमाझीका अनुसार यो नाचलाई फरक–फरक नामले चिनिए पनि नेपालभर भने सोरठीकै रुपमा बढी चिनिन्छ । धार्मिक तथा सांस्कृतिक रुपमा यो नाच कतै दशैँअघि नै शुरु गरेर पुससम्मै प्रस्तुत गरिन्छ भने कतै यो नाच तिहारको समयमा मात्र प्रस्तुत गरिन्छ ।

उत्पादन गरेर युट्युबमार्फत सार्वजनिक गरिएका नचरी नाचहरूमा भगवानको महिमासुन्न सकिन्छ ।

गायक नारायण रायमाझी यस्ता मौलिक गीतलाई संरक्षण गर्ने अभियान नै चलाउनुपर्ने धारणा राख्छन् । ‘कुनै समय नौमती बाजा पनि लोप हुन्छन् कि भन्ने अवस्थामा थिए, तर अहिले सबै जातिले बाजाको संरक्षण गर्न थाले, यसैगरी अब सांस्कृतिक महत्त्व बोकेको सोरठीलाई पनि जोगाउने अभियान थाल्नुपर्छ जस्तो लाग्छ’, रायमाझी थप्छन्, ‘युवापुस्ताले आफ्नो संस्कृतिलाई नसम्हालेसम्म यसको जगेर्ना गर्न सकिँदैन, पुस्ताले हस्तान्तरण गरेर नै जोगिने हुन् यी संस्कृति ।’

रायमाझी अगाडि भन्छन्, ‘यस्ता संस्कृतिहरू व्यवसायिक हुँदैनन्, संस्कृतिमा पनि अहिले व्यवसायिकता आएकाले नचरी लोप हुने सम्भावना देखियो, गाउँतिर त हराइसकेको छ, किनकि गाउँमा युवाहरू नै छैनन् ।’

अर्का गायक खड्ग गर्बुजा भने यस्ता संस्कृति लोप नभएको दाबी गर्छन् । गर्बुजा पहिले गाउँमा मात्र सीमित नाच अहिले राष्ट्रिय रुपमा फैलिएको बताउँछन् । ‘अहिले सोरठीहरू लोप हुने अवस्थामा पुग्यो भन्ने चाहिँ लाग्दैन, बरु अहिले यो संस्कृतिले अरुले पनि चिनारी दिएको छ’, गायक गर्बुजा भन्छन्, ‘अहिले नचरीले व्यापकता पाएको छ, यो बेलामा हामीले निरन्तरता दिन सकेनौँ भने मात्र लोप हुन सक्छ, यसलाई नेपालीले आफ्नो संस्कृतिलाई कसरी हेर्छन् भन्ने कुराले भर पार्ने कुरा हो ।’
 

अर्घेलो थापा

अर्घेलो थापा (अनिल थापा) लोकपथका लागि फिचर लेख्छन् ।

Leave a comment