मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

लोकपथ
28
Shares

खोटाङ । आसन्न निर्वाचन सम्पन्न गराउनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ ।

आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले मतदान गराउने जिम्मेवारी पाएका १९६ मतदान अधिकृत र १९६ सहायक मतदान अधिकृतलाई निर्वाचन सम्वन्धी तालिम दिएको हो ।

सहभागीमध्ये दुई अस्थायी मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृत छन् । निर्वाचन सामग्रीसहित मतदान केन्द्र पुग्ने, मतदान गराउने, खसेको मतपत्र सुरक्षितसाथ मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने लगायतका दायित्वका विषयमा जानकारी दिन निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।

आइतबार ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर तालिम दिइएको थियो ।

सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई उनीहरुले गर्नु पर्ने काम, कर्तव्य, अधिकार र जिम्मेवारीका विषयमा जानकारी दिइएको छ । तालिम लिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतका कर्मचारी निर्वाचन सामग्री सहित १ मंसिरसम्ममा मतदानस्थल पुगिसक्ने छन् ।

टाढा–टाढा खटिएका कर्मचारी मंगलबारदेखि खटिने कार्यालयले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैंदीले मताधिकार प्रयोग गर्नेछन् ।

कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैंदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने छ । कर्मचारी, सुरक्षाकर्मी र कैंदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र भोट हाल्न पाउने छन् । आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?