काठमाडौं । अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन् । बुधवार बाग्मती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डाक्टर वाग्लले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउनको लागि राजनीतिक निर्णय तथा नीतिहरुमा सुधार ल्याउनुपर्ने बताए ।
डाक्टर वाग्लेले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् । उनले यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने बताए । उनले नेपाल पर्यटनको हिसावले उच्च सम्भावना भएको मुलुक भएपनि आत्याधिक कम मात्रै पर्यटक आउने गरेको बताए ।
उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार,होटल पूर्वाधारको विस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताए । वाग्लेले नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने बताए । उनले अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने दाबी गरे । उनले नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्नसक्ने बताए ।
अर्थविद् वाग्लेले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरु पग्लिरहेको बताए । उनले लोकल ब्ल्याक कार्वनले ग्लोवल ग्रिनहाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरु तातेर पग्लन थालेको बताए । उनले अहिले भइरहेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्नको लागि सबै मुलुकहरु मिलेर समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए ।
डाक्टर वाग्लेले नेपालको आर्थिक नीतिहरु भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताए । उनले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरुमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया