कुशीनगरमा अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ्ग शुरु

मनोज पौडेल / भारत । भगवान गौतम बुद्धको महापरिनिर्वाण स्थल भारतको कुशीनगरमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ (च्यान्टिङ्ग) शुरु भएको छ ।

कुशीनगरका ज्येष्ठ भिक्षु भदन्त ज्ञानेश्वरको ८३ जन्मोत्सवका उपलक्ष्यमा आयोजित पाठ शुरु हुन अघि बाजागाजा सहित शोभायात्रा निकालिएको थियो । त्यसपछि शोभायात्रा महापरिनिर्वाण स्थल नजिक पुगेर पाठ सुरु भएको थियो ।

विश्व शान्ति, आपसी मित्रता र भाईचारा बढाउने उद्देश्यले आयोजित पाठ ३ दिनसम्म चल्नेछ ।

नेपाल, भारत, थाइल्याण्ड, भियतनाम र लाओस लगायत १२ देशका २ सयबढी भिक्षुले दैनिक पाठ गर्नेछन् । विभिन्न देशका भिक्षुको नेतृत्वमा विभिन्न सत्रमा पाठ गरिने आयोजक समिति सदस्य भिक्षु रत्ननन्दनले बताए । कार्यक्रममा नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महाअस्थवीर र पूर्व राज्यमन्त्री देवेन्द्रराज कडेंलले मन्तव्य दिएका थिए । 

कार्यक्रममा भगवान गौतम बुद्धले कुशीनगरमा देशना गरेको महापरिनिर्वाण सुत्र र महासुदर्शन सुत्रको पाठ गरिनेछ । कार्यक्रम अन्तर्राष्ट्रिय बौद्ध एशोसियसन अमेरिका र कुशीनगर त्रिपिटक पाठ आयोजक समितिले गरेका हुन् ।

नेपालमा पनि पहिलो पटक कार्तिक २८ देखि ३० गतेसम्म लुम्बिनीमा त्रिपिटक पाठ हुँदैछ । कुशीनगर लुम्बिनीदेखि १ सय ७० किमी पूर्व दक्षिण भारतमा पर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?