धावक कार्कीले पूरा गरे खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड

सिन्धुली । धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड पूरा गरेका छन् । 

धावक कार्कीले दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले सो दौड पूरा गरेका हुन् । उनले करिब २५ किलोमिटर दूरीको दौड २ घण्टा समय लगाएर पूरा गरे ।

कार्कीले २५१ औँ सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंगाएका थिए । सो अवसरमा कमलामाई नगरपालिकाले कार्कीलाई नगदसहित सम्मान गरेको थियो । कार्कीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीले नगद ५ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

दौडबाट संकलन हुने रकम कालिकोटको रासकोटमा बन्न लागेको स्मार्ट अस्पतालका लागि सहयोग स्वरुप हस्तान्तरण गर्ने कार्कीले बताएका छन् ।

उनले यसअघि २०६४ सालमा १ सय १ दिन दौडेर ७५ जिल्ला पुगिसकेको थियो । 

कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी २ पटक, काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक र काठमाडौंदेखि पोखरा १ पटक दौडिसकेका छन् । त्यस्तै कार्कीले काठमाडौंदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडि सकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?