काठमाडौं । प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरूको कार्यकाल नयाँ भवन देखि सुरु गर्ने भनिए पनि चुनाव पछि तत्कालै सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन् ।
सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणमा भएको ढिलासुस्ती र आलटालका कारणले निर्वाचित भएर आउने सांसदहरूले नयाँ भवनबाट कार्यकाल शुभारम्भ गर्ने अवसर नपाउने भएका हुन् ।
सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६० प्रतिशत मात्र पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ६० प्रतिशत रहेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्ने थियो ।
समयमै भवन निर्माण नहुँदा राज्यको वार्षिक १५ करोड रुपैयाँ पुरानै ठाँउमा तिर्दैमा सकिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेयका अनुसार, २०६५ सालदेखि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको वार्षिक १५ करोड रुपैयाँ भाडा तिर्नुपर्दछ ।
कुल १ सय ५१ रोपनीमा निर्माणाधीन संघीय संसद् भवन पाँच तले बन्नेछ । माथिल्लो सदन (राष्ट्रिय सभा), तल्लो सदन (प्रतिनिधि सभा), संसद् सचिवालय, राजनीतिक दलहरूका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र सभा कक्ष तथा करिब तीन सयजना क्षमताको सुरक्षाकर्मी भवन छुट्टाछुट्टै निर्माण गरिनेछ।
आयोजनामा १२ वटा भवनसहित चारवटा गेट र ल्याण्ड स्केपिङ्ग पनि हुनेछ । संघीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।
कुल सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७ सय ३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करीब नौ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ ।
तस्बिरहरु :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया