पोखरा कोमागाने मितेरीकक्ष सञ्चालन

पोखरा । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा ‘कोमागाने मितेरीकक्ष’ स्थापना गरिएको हो । 

कोमागाने र जापानका बारेमा अध्ययन गर्न सो मितेरीकक्ष स्थापना गरिएको हो । सो कक्षको गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र ‘सिटिजन एशोसिएसन फर नेपाल एक्सचेन्ज कोमागाने’का अध्यक्ष कोमा सुभाराले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।  प्रदेशसभा सदस्य थापाले कोमागाने शहरसँगको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् ।

पोखरा महागनरका उपप्रमुख गुरुङले मितेरी सम्बन्धलाई बलियो र आत्मीय बनाउन महागनर तयार रहेको बताए। उनले पोखराको लेकसाइडस्थित कोमागाने पार्कलाई व्यवस्थित गर्ने महानगरको योजना रहेको बताए । सिटिजन एशोसिएसन फर नेपाल एक्सचेञ्ज कोमागानेको अध्यक्ष सुभाराले पोखरा र कोमागानेबीचको सम्बन्धले दुई शहरका बासिन्दाबीचको सम्बन्ध सुमधुर बनेको बताए । कोमागाने र पोखराबीच सन् २००१ मा मितेरी सम्बन्ध स्थापना भएको हो । कोमागानेले मातृशिशु मितेरी अस्पताल निर्माण गर्न, स्वास्थ्य उपकरण खरीद गर्न तथा स्वास्थ्य कार्यक्रमका लागि रु सात करोड सहयोग गरेको पोखरा कोमागाने नागरिकमैत्री एशोसिएसनका सचिव महेन्द्रबहादुर गोदारले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?