काठमाडौं । चलचित्र ‘दाल, भात, तरकारी’ को शुभ मुहूर्त गरिएको छ । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६१ अौँ जन्मदिन पारेर फिल्म युनिटले राजधानीको कमलादीस्थित गणेश मन्दिरमा विशेष पूजाआजा गर्दै फिल्मको मुहूर्त गरेको हो ।
किरण केसी प्रस्तुतकर्ता रहेको उक्त फिल्मलाई किरणका छोरा सुदन केसीले निर्देशन गर्दैछन् । मुहूर्तमा निर्माण टिमका कलाकार उपस्थित थिए । यस्तै मुहूर्त कार्यक्रममा कलाकार दीपकराज गिरी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, कलाकार शिवहरि पौडेल, सम्भुजित बासकोटा लगायत उपस्थित थिए ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, शिशिर वाङदेल, अनुराग कुँवर लगायतका कलाकारले अभिनय गर्नेछन् । हिजो सोमवार मात्र चलचित्रमा स्वस्तिमा खड्काको ठाउँमा नायिका आँचल शर्मा अनुबन्ध भएकी थिइन् ।
चलचित्रमा सम्भुजित बाँस्कोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन, हरिवंश आचार्यको कथा, पटकथा, संवाद तथा गीत रहनेछ ।
दाल, भात, तरकारी खान सङ्घर्ष गर्ने एक युवकको कथालाई लिएर तयार पारिएको फिल्म आगामी वर्षको वैशाख १३ गते प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया