महिला हिंसाको विषयमा करिष्मा मानन्धर भन्छिन्, ‘निर्मला पन्त त प्रतिनिधि पात्र मात्र हुन्’

काठमाडौं । पछिल्लो समय नेपालमा महिला हिंसाका घटना दिनदिनै बढिरहेका छन् । समाजमा महिला हिंसा व्याप्त छ । चाहे त्यो घरभित्र हुने हिंसा होस्, या घरबाहिर हुने हिंसा । महिला हिंसाका घटना विभिन्न बहानामा दैनिकजसो भइरहेका छन् । राज्यका हरेक संयन्त्रमा सरकारले तेत्तीस प्रतिशत महिलालाई अवसर दिने भनिरहेको छ । यसको कारण नेपालजस्तो मुलुकमा महिलाहरु पिछडिएका छन् भन्ने हो । विधुवा प्रथा, छाउपडी प्रथा, घरेलु हिंसाजस्ता हिंसामय प्रवृत्तिलाई राज्यले नै हटाउन सक्नुपर्ने हो ।

तर, हाम्रो नेपालमा के भइरहेको छ भने कानून बनेका त छन्, तर ती कानूनहरु औपचारिकताका लागि मात्र बन्छन् । मैले चौध वर्षको उमेरदेखि सिनेमामा काम गर्दा समाजका अनेक घटनालाई पात्र बनाएर अभिनय गरेँ । पर्दामा महिलाको चित्कार उतारेँ । ती पात्रमार्फत हामीले समाजमा सन्देश दिन खोज्यौँ । तर, सिनेमाको माध्यमबाट मात्र सन्देश दिएर पुग्दैन । जबसम्म राज्यले महिला हिंसाका घटनालाई कडाइका साथ कार्यान्वयनमा ल्याउँदैन, तबसम्म यस्ता घटना घटिरहन्छन् । यो डरलाग्दो प्रवृत्ति हो ।

समाजमा विभिन्न प्रथाका नाममा हिंसाका घटना घटिरहेका छन् । यसमा एकातिर त ‘इज्जतको डर’ को शब्दावलीले प्रभाव पारिरहेको हुन्छ । अर्कातिर नेपाली समाजमा अहिले पनि महिलालाई पुरुषले दबाउनुपर्छ भन्ने सोचले जरा गाडेको छ ।

अहिले मैले यो उमेरमा आएर फेरि पढाइ गर्न खोज्नुको कारण के पनि हो भने, मेरो कारणले समाजमा प्रभाव पर्न सक्छ । महिला शिक्षित हुनुपर्छ, उनीहरु आफै बोल्नसक्ने नभएसम्म महिला हिंसाका घटनामा कमी आउँदैन । नेपालमा जरैदेखि गडेर बसेका विभिन्न प्रथा र सोच महिला हिंसाका मुख्य हतियार बनेर बसेका छन् । जसका कारण समाजमा महिला दबिएर बस्नुपर्ने बाध्यता छ । यसको निकास भनेको पहिले त शिक्षा नै हो । राज्यले जबसम्म शिक्षाका माध्यमबाट समाजका कुना–कुनासम्म चेतना फैलाउँदैन, तबसम्म यी घटनाहरुमा कमी आउँदैन ।

यहाँ त अझ कस्तो प्रवृत्ति हाबी छ भने अपराधीलाई पनि लुकाउन खोजिन्छ । बलात्कार, हत्या र हिंसाका घटना बढिरहेका छन् । आपराधिक घटनामा संग्लग्न अपराधीहरु आफ्नै घरको व्यक्ति भए पनि छोड्न मिल्दैन । नेपालमा भने यस्ता अपराधीलाई माफी दिइन्छ । यसको प्रत्यक्ष प्रभाव, बलात्कारका घटना मौलाउँदै गएका छन् ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्याको प्रसङ्गलाई नै हेरौँ । हत्या भएको सयौँ बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेन । निर्मलाका परिवार र नागरिक अधिकारकर्मी अहिले पनि धर्नामा बसेका छन् । कहिलेकाहीँ त म आफै गएर उहाँहरुलाई साथ दिऔँ जस्तो लाग्छ । किनकि, मेरा पनि छोरी छन् । त्यो पीडा मलाई पनि छ ।

निर्मलाकै कुरा गर्ने हो भने त्यति सानो ठाउँमा पनि प्रहरी अपराधी पत्ता लगाउन चुक्यो । त्यहाँ सरकारी लापरवाहीले गर्दा निर्मलाका हत्यारा पत्ता लगाउन सकिएन । यो राज्यका लागि हाँसो नै भयो । त्यहाँ पक्कै पनि अन्य ग्रहबाट मान्छे आएर त्यस्तो घटना घटाएको होइन । उक्त क्षेत्रमा कसको दोष हुनसक्छ भन्ने त प्रहरीले पनि अनुमान गर्नुपर्ने हो ।

निर्मला पन्त त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता घटना बग्रेल्ती यही समाजमा पाइन्छन् । हत्याका घटना, रक्सी खाएर पत्नी पिट्नेजस्ता घटना किन पनि घटिरहेका छन् भने नेपालको कानून कागजमा मात्र सीमित छ । शक्तिको आडमा अपराध गर्नेहरुले गरिरहेका छन् । अहिले पनि रेखा थापाले महिला हिंसाका घटनालाई लिएर सिनेमा बनाइरहेकी छिन् । यी सिनेमाले केही हदसम्म चेतना त फैलाउँछ तर राज्य संयन्त्र बलियो नभएसम्म यस्ता घटना रोकिने अवस्था छैन ।

जबसम्म महिलाले आफ्नो कमजोरी थाहा पाउँदैनन्, तबसम्म यो परिवर्तन सम्भव छैन । महिलालाई शिशित र सशक्त बनाएर मात्र यस्ता घटनाहरु कम हुने हुन् । महिला आफै जागरुक बन्न शिक्षाकै खाँचो छ शुरुमा ।

हाम्रो समाजमा महिलालाई अहिले पनि पुरुष मानसिकताले थिचिरहेको छ । हुन त कानून सबैका लागि हो तर छोरीहरु इज्जतका डरले अन्यायविरुद्ध बोल्न सक्दैनन् । म त के भन्छु भने, अन्यायविरुद्ध बोल । आजै बोल ।

हाम्रो समाजमा भनिने ‘छोरीको इज्जत ठूलो’ को मानसिकताले पनि महिलालाई थिचिरहेको छ । शास्त्रले नै भनेको छ कि, महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् । प्रकृतिले महिला र पुरुषविना जीवन नहुने अमूल्य वरदान दिएको छ । तर समाजमा भने अहिले पनि महिलालाई दबावमै राख्न खोजिन्छ । समानताको कुरा गर्ने हो भने महिलालाई पनि पुरुषलाई जत्तिकै स्वतन्त्र छोडिदिनुपर्छ ।

समाजमा रातिमा महिला घर निस्कन नहुने, महिलाले इज्जतको ख्याल गर्नुपर्ने तर पुरुषले जे पनि गर्दा हुने जस्ता सोचले गाँजेको छ हामीलाई । अर्कातिर महिलाले ‘इज्जतको भय’ ले आफ्ना समस्या अरुलाई नभन्ने कारण पनि हिंसाका घटना बढेका हुन् जस्तो लाग्छ ।

नेपालमा पर्दा लगाएपछि भित्र के हुन्छ भन्ने केही थाहा हुँदैन । बरु अहिले मीटु मुभमेन्टले केही हदसम्म सचेत चाहिँ गराएको छ । महिला शिक्षित नभएसम्म समाज शिक्षित हुँदैन । अहिले थोरै भए पनि सचेतना त आएको छ तर यो सचेतनाको सर्कल पूर्ण नभएसम्म यस्ता घटनाहरु घटिरहन्छन् । राज्यले महिला हिंसाका घटनामा न्यूनीकरण गर्न सकेन र कानूनी व्यवहार बलियो बनाएन भने महिला हिंसा कम गर्न निकै कठिन छ ।

(लोकपथकर्मी अर्घेलो थापासँगको कुराकानीमा आधारित)
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?