काठमाडौं । म्यान्मारमा जारी टोकियो ओलम्पिक अन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ ।
यांगोनस्थित थुनुवा रंगशालामा मंगलवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो । समूह ‘सी’ मा बंगलादेशसँग बराबरीमा रोकिएपनि नेपाल तेस्रो हुनेमध्ये उत्कृष्ट दुई भित्र पर्दै दोस्रो चरणका लागि छनोट भएको हो ।
पहिलो चरणमा प्रतिस्पर्धा गरिरहेका चार समूहको तेस्रो हुनेमध्ये नेपाल उत्कृष्ट दुईमा पर्दै दोस्रो चरण पुगेको हो।
खेल शुरु भएको १७ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि कप्तान निरु थापाले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । खेलको पहिलो हाफसम्म दवावमा राखेको बंगलादेशलाई दोस्रो हाफमा भने नेपालले थप गोल गर्न सकेन ।
प्रतिस्पर्धात्मक खेल सकिन तीन मिनेट मात्र बाँकी रहँदा बंगलादेशका लागि अखि खातुनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याइन् । बराबरीपछि तीन खेलबाट ३ अंक बनाएको छ ।
यसअघि नेपालले खेलेको दुवै खेलमा बराबरी गरेको थियो । पहिलो खेलमा भारतसँग र दोस्रो खेलमा आयोजक म्यान्मारसँग १-१ गोलको बराबरी गरेको थियो ।
समान ४ अंक बनाएको म्यान्मार पहिलो तथा भारत दोस्रो स्थानमा छ । नेपाल ३ अंकका साथ तेस्रो तथा बंगलादेश अन्तिम स्थानमा छ ।
पहिलो चरणबाट छानिएका १० टिम तथा वरियताका आधारमा सिधै दोस्रो चरणमा पुगेका भियतनाम र उज्वेकिस्तानसहित १२ टोलीबीच दोस्रो चणमा प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको खेल आगामी अप्रिल २०१९ मा हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया