९ वर्षपछि सुजाताको घरमा केसीको पाइला

तत्कालिन काँग्रेस सभापति गिरीजा प्रसाद कोइरालाको नेतृत्व कालमा काँग्रेसभित्र चार नेताको एउटा समूह थियो । त्यो हो– एकेजीवी अर्थात अर्जुन नरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय कुमार गच्छदार । 

तत्कालिन समयमा यी चर्चित पात्रमध्ये खुमबहादुर खड्काको निधन भइसकेको  छ भने जोशी भ्रष्टाचार मुद्दामा फसेसँगै काँग्रेसको राजनीतिबाट छायाँमा छन् । 

यी चर्चित पात्रमध्ये अहिले अग्रपंक्तिमा छन् केसी र गच्छदार । उनै गच्छदार अहिले सभापति शेरबहादुर देउवाको जोडबलमा उपसभापतिमा मनोनित हुँदा अघिल्लो महाधिवेशनमा देउवा समूहैबाट महामन्त्रीमा पराजित केसी भने अहिले मध्यमार्गी भूमिकामा छन् ।  गच्छदारलाई सभापतिले मनपरी ढंगले उपसभापतिमा मनोनयन गरेको भन्दै असन्तुष्ट रहेका केसी अहिले फरक गुट जन्माउने कसरतमा लागेको बताइन्छ । 

यही मेसोमा रहेका केसी लगायत संस्थापन इतरका एक समूह सोमबार एकै स्थानमा भेला भएर सशक्त सन्देश प्रवाह गरेका छन् । 

केसीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल,  महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, शेखर कोइराला र डाक्टर रामशरण महत एकै स्थानमा भेला भएका हुन् । 
मण्डिखाटारस्थित काँग्रेस नेत्री सुजाता कोइरालाको घरमा भएको उक्त भेलामा  देउवाको मनपरी, पार्टीमा मनोनयन आसन्न महाधिवेशनलगायतका विषयमा छलफल त भयो नै अब देउवालाई कसरी कमजोर बनाएर अघि बढ्ने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ । 

रोचक कुरा त के छ भने तत्कालिन काँग्रेस सभापति गिरीजा प्रसाद कोइरालाको मृत्युपछि मण्डिखाटार नपुगेका केसी अहिले त्यहाँ पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । झण्डै दुई दशकदेखी बोलचाल नै बन्दको अवस्थामा पुगेको कोइराला र केसीको सम्बन्ध लन्च मिटिङले पार्टीगतमात्र नभएर व्यक्तिगत सम्बन्धमा पनि सुधार आएको कांग्रेस वृतमा चर्चा छ । 

पछिल्लो समय  सुजाता र कोइराला परिवारसँग सम्बन्ध राम्रो नभएको ठानिएका केसीको अहिले यी घरानासँग सम्बन्ध सुधार हुनुका साथै  आगामी महाधिवेशनमा मिलेर जान तयार रहेको रुपमा पनि बुझिएको छ । 

स्मरण रहोस् गिरीजा प्रसादको मृत्यु २०६६ चैतमा भएको थियो । यसरी हेर्दा केसी ९ वर्षपछि सुजाताको निवास पुगेका हुन् । 

काँग्रेसभित्र कोइराला परिवार निकट देखिएका केसी  शुशिल कोइरालाको निधनसँगै देउवा समूहपट्टी नजिकिएको भएपनि अहिलेको उनको सक्रियताले नयाँ समूह निर्माण गर्ने र नभए देउवा विरुद्ध मोर्चाबन्दीमा लाग्ने मनस्थिति जस्तो देखिने काँग्रेस नेताहरुकै बुृझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?