भ्रष्टाचारका समाचार लेख्दा असुरक्षित हुने डर

चिप्लेढुङ्गा । भ्रष्टचारका समाचार लेख्दा बढी असुरक्षित हुने गरेको पत्रकारहरुले बताएका छन् । 

अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवसका अवसरमा फ्रिडम फोरमले पोखरामा आज आयोजना गरेको ‘सुरक्षित पत्रकारिता तथा दण्डहीनताको अन्त्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरूले भ्रष्टाचार र सामाजिक विकृति एवम् विसङ्गतिका विषयमा कलम चलाउँदा असुरक्षित हुनुपरेको बताए ।

“एक पक्षको समाचार लेखिरहँदा अर्को पक्षबाट धम्की आउन थाल्छ, विशेषगरी भ्रष्टाचारका र खोजी पत्रकारिता गर्दा मानसिक यातना हुने गर्छ”, पत्रकार प्रकाश ढकालले भने ।

उनले केही समयअघि पत्रकारको परिचयपत्र देखाउँदा पनि प्रहरीले लाठीचार्ज गरेको बताउँदै प्रहरी मिडियामैत्री हुन नसकेको गुनासो गरे ।

पत्रकार ढकालले भ्रष्टाचारका समाचार लेखेको दिन बढी मानसिक यातना भोग्नुपरेको उल्लेख गर्दै शारीरिकभन्दा मानसिक दुव्र्यहारको सिकार हुनुपरेको अनुभव सुनाए ।

पत्रकार उत्तम पौडेलले केही समयअघि पोखराको सुन पसलमा भइरहेको ठगीका समाचार लेख्दा सुरक्षा गार्डबाट दुव्र्यवहार भएको चर्चा गर्दै आफ्नो पेशागत धर्मभित्र रहेर कर्तव्य पूरा गरिरहँदा हुने दुव्र्यवहारले पत्रकारलाई हतोत्साहित बनाउने हुँदा दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारले हरेक दिन नयाँ समाचार लेख्दा चुनौतीको सामना गर्नुपर्ने बताउँदै नेपालमा सशस्त्र द्वन्द्व यता विभिन्न पक्षबाट ३६ पत्रकार मारिएको, पाँच जना बेपत्ता भएको र एकाध घटनाबाहेक अन्य घटनाका दोषीमाथि कारवाही नहुँदा दण्डहीनता मौलाएको धारणा व्यक्त गरे ।

दण्डहीनताका कारण पत्रकार झनै असुरक्षित हुने गरेको बताउँदै उनले सुरक्षाको प्रत्याभूत राज्यबाट हुनुपर्ने धारणा व्यक्त गरे ।

पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीमा स्थानीय तहको निर्वाचन यता आठ घटनामा १० पत्रकार विभिन्न पक्षबाट दुव्र्यवहार भोग्नुपरेको उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिलाउन सरकारलगायत सम्बन्धित सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले शान्तिसुरक्षाको प्रत्याभूतका लागि दण्डहीनताविरुद्धको साझा सङ्कल्पमा सबै जुट्नुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका गण्डकी प्रदेश प्रमुख दीपकजंग ध्वज कार्की, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, सामाजिक अभियानकर्मी रामबहादुर पौडेल, प्रहरी नायब उपरीक्षक नवीन कार्की, पत्रकार कृष्णप्रसाद बाँस्तोला, पुण्य पौडेल, लालप्रसाद शर्मा, फ्रिडम फोरम गण्डकी प्रदेश संयोजक रमेश पौडेल, शान्तिका लागि नागरिक समाजका पूर्वअध्यक्ष विष्णु बराललगायतले राज्यको चौथो अङ्गमाथिको प्रहारले सुशासन स्थापित हुन नसक्ने विचार व्यक्त गरे ।

कार्यक्रममा विभिन्न समयमा हत्या गरिएका एव्म बेपत्ता पारिएका पत्रकारका बारेमा तयार गरिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?