६० लाख यहुदीका हत्यारा हिटलरकी ‘यहुदी स्वीटहार्ट’ ! यसकारण सम्बन्ध चिसियो

हिटलर र एउटी सानी बालिकाको मुस्कुराइरहेको तस्वीरलाई यही मङ्गलवार लिलामीमा राखियो । तस्वीर हिटलरका साथी तथा फोटोग्राफर हेन्रिक हुफम्यानले खिचेका थिए । उनका अधिकांश तस्वीर हुफम्यानले नै लिने गर्थे ।

अमेरिकाको मेरील्यान्ड शहर अवस्थित ‘एलेक्जेन्डर हिस्टोरिकल अक्सन’ मा आयोजित लिलामीमा सो तस्वीर ११ हजार डलर्समा लिलाम भयो । १० हजार डलर्स सम्ममा बिक्ने अनुमान लगाएका आयोजकहरु पनि अपेक्षित मूल्य भन्दा धेरै मूल्यमा तस्वीर बिक्दा अचम्ममा परे ।

तस्वीर सामान्य छ । तस्वीर मा हिटलर छन् अनि उनीसँगै एउटी सानी बालिका । बालिका क्यामेरातिर हेरेर टमक्कै मिलेका दाँत देखाएर मुस्कुराइरहेकी छिन् । उनका आँखा चम्किला देखिन्छन् । तस्वीर लिइँदा उनी साँच्चै नै खुसी थिइन् भनेर उनको चेहराको आभाले प्रष्टै झल्काउँछ । त्यस्तै, हिटलर पनि उत्तिकै खुसी देखिन्छन् । उनका आँखा क्यामेरातिर नभइ ती सानी बालिकातिर फर्किएको छ । अक्सर आक्रोश र कडा प्रवृत्तिका रुपमा चित्रित हुने हिटलर यस तस्वीरमा खुलेर मुस्कुराएका छन् । उनले बालिकालाई अङ्कमाल समेत गरेका छन् । तस्वीर हेर्दा उनीहरु एक अर्कासँग निकै नजिक थिए भन्ने महसुस हुन्छ ।

तस्वीरमा उनीहरुको आकृतिका अतिरिक्त नीलो मसीले केही लेखिएका केही अक्षर पनि छन् । नियालेर हेर्दा ती अक्षरले यसो भन्छन् ‘प्रिय रोजा नियाउ एडल्फ हिटलर म्यूनिक, १६ औं जून १९३३’ ।
यो अक्षर हस्तलिखित छ । 

झट्ट हेर्दा सरल लाग्ने यस तस्वीरको ‘रियल स्टोरी’ अलिक ‘जटिल’ छ । तस्वीरमा छन् ६० लाख यहुदीका हत्यारा हिटलर र यहुदी बालिका रोजा । यसअघि यो दुर्लभ तस्वीर कहिल्यै सार्वजनिक भएको थिएन ।

हिटलर यदि कसैलाई अत्यन्तै घृणा गर्थे भने ती यहुदी(जिउज) नै थिए । एकातर्फ लाखौं यहुदीलाई निर्मम तरिकाले हत्या गर्नु अर्कातिर, जिउज बालिकासँगै हाँस्दै तस्वीर खिचाउनु आफैमा रहस्यमय कुरा हो । यी दुईले यस बाहेक पनि सँगै तस्वीर  खिचाएका छन् ।

हुन त, अनावश्यक प्रचारबाजीका निमित्त बेलाबेला हिटलरको अन्य बालबालिकासँग खिचाएका तस्वीरहरु पनि बाहिर आइरहन्थे । यद्यपी यस तस्वीरमा भने हिटलर स्वयम पनि उत्तिकै प्रफुल्लित देखिएका छन् । करकापमा खिचिएको भान पटक्कै हुँदैन ।

को हुन् रोजा ? कसरी बढ्यो ‘हिटलर’ र उनीबीच मित्रता ?

सन् १९३३ जून १६ मा हिटलरलाई जन्मदिनको ‘शुभकामना’ दिन उनको घरअगाडि लागेको भीडमा रोजा र उनकी आमा क्यारोलिन पनि थिए । 

रोजाको जन्मदिन पनि सोही दिन पर्ने जानकारी पाएपछि हिटलरले आमा छोरीलाई घरभित्रै बोलाएर यो तस्वीर खिचाएका थिए । त्यसदिनदेखि उनीहरुबीच मित्रता कायम भयो । मित्रता दिन प्रतिदिन घनिष्ट बन्दै गयो । 

घटनामा ट्वीस्ट तब आयो जब क्यारोलिनकी आमा ‘यहुदी’ हुन् भन्ने तथ्य बाहिर आयो । हजुरआमा ‘यहुदी भएका कारण नाजीहरुले रोजालाई पनि ‘यहुदी’ नै माने । तर, यो कुरा थाहा हुँदा हुँदै पनि हिटलरले रोजासँग आफ्नो सम्बन्ध तोड्न चाहेनन् । 

सन् १९३५ देखि १९३८ सम्म विभिन्न अवसर पारेर रोजाले हिटलरलाई कम्तीमा १७ पटक चिठ्ठी लेख्न भ्याइन् । तर, हिटलरका निजी सचिव मार्टिन बोर्मनले रोजा र उनकी आमालाई हिटलरसँग टाढा रहने धम्की दिएपछि क्रमश उनीहरुको सम्बन्ध चिसियो ।

हुफम्यानले आफ्नो पुस्तक ‘हिटलर वाज माइ फ्रेन्ड’ मा समेत यस विषयमा चर्चा गरेका छन् ।

उनका अनुसार हिटलरलाई रोजा र उनकी आमालाई आफ्ना सचिवले धम्काएको पटक्कै चित्त बुझेको थिएन । ‘कोही मान्छे यस्ता पनि छन् जसलाई मेरो खुसी बर्बाद गर्न राम्रोसँग आउँछ ।’ भन्दै उनले हुफम्यानसँग गुनासो समेत पोखेका थिए ।

हुफम्यानले सन् १९५५ मा प्रकाशन भएको आफ्नो पुस्तकमा हिटलर र रोजाको अर्को तस्वीर राखेर ‘हिटलरकी स्वीटहार्ट’ भन्दै क्याप्सन दिएका छन् ।

हिटलरसँग सम्पर्क पातलिएको एक वर्ष पछि दोस्रो विश्व युद्ध शुरु भयो । युद्धकै दौरान ६० लाख यहुदी मारिए । त्यसमा रोजा र उनकी आमा क्यारोलिन पनि परे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?