आमिरको ‘ठग्स अफ हिन्दोस्तान’ नचल्दा ‘चंगाचेट’ लाई राहत

काठमाडौं । ठूलो बजेटको बलिउड तथा हलिउड फिल्म नेपालमा रिलिज हुँदा नेपाली फिल्मको व्यापारमा ठाडै असर पर्ने गर्छ । पछिल्लो समय रिलिज भएको आमिर खान र अमिताभ बच्चनको अभिनय रहेको प्रतीक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पनि ठूलो ब्यानरमा बनेको चलचित्र भनिएको थियो । तर, यो फिल्मले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाउन सकेन । फिल्मले पहिलो दिन त बम्पर ओपनिङ ग–यो । त्यसपछि माउथ पब्लिसिटीले फिल्म चलाउन सकेन ।

‘ठग्स अफ हिन्दोस्तान’ ले राम्रो प्रतिक्रिया नपाउँदा यसको फाइदा घरेलु सिनेमालाई भएको छ । ‘ठग्स अफ हिन्दोस्तान’ ले समीक्षक र दर्शकबाट झुर प्रतिक्रिया पाउँदा फिल्म ‘चंगाचेट’ लाई चाहिँ फाइदा पुगेको छ ।

दोस्रो हप्तामा हलमा प्रदर्शन भइरहेको फिल्म ‘चंगाचेट’ ले दर्शक पाइरहेको फिल्मका निर्माता तथा निर्देशकले बताएका छन् । ‘चंगाचेट’ सँगै रिलिज भएको रेखा थापाको फिल्म ‘मालिका’ पनि फ्लप हुँदा यसको फाइदा पनि ‘चंगाचेट’ युनिटलाई पुगेको छ ।

निर्माता माधव वाग्लेले भने अरु फिल्म कमजोर भएर ‘चंगाचेट’ लाई फाइदा पुगेको नभएर यो फिल्म आफैमा राम्रो भएर दर्शकको माया पाएको बताए ।

‘शुरुमा हामीलाई ‘छक्का पञ्जा ३’ र अर्को अङ्ग्रेजी फिल्मले प्रभाव पारेको थियो, अहिले शोहरु बढिरहेको छ,’ वाग्लेले भने, ‘अकुपेन्सी पनि राम्रो छ, माउथ पब्लिसिटीले फिल्मको राम्रो प्रतिक्रिया पाएको छ ।’

दीपेन्द्र के. खनालले निर्देशन गरेको यो फिल्म डार्क कमेडी विधामा बनेको फिल्म हो । चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ । चलचित्रले गोजीमा दाम हुने र नहुनेबीचको द्वन्द्वलाई उठान गरेको छ ।

फिल्मको गीत ‘गोजीमा दाम छैन’ को पछिल्लो समय निकै चर्चामा छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?