पूर्वराजदूत झा हत्याको ८८ दिन, कहाँ अल्मलियो प्रहरी ?

गत भदौ ४ गते फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिए । राष्ट्रका महत्वपूर्ण व्यक्ति, देशको राजधानीजस्तो स्थानमा आफ्नै घरमा सुतिरहेका अवस्थामा मृत भेटिनुले ठूलै हल्लीखल्ली मच्चायो । 

घटनाको प्रकृति हेर्नेबित्तिकै प्रहरीले हत्या या आत्महत्या के हो तत्काल अनुसन्धानबाट थाहा हुने बताएको थियो । तर घटना भएको साढे तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।  

भएको के थियो ? 

८० वर्षीय झा भदौ ४ गते काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । टाउकोमा धारिलो हतियारले प्रहार गरिएकाले उनको शरीर रगतभरी रगत लत्पतिएको थियो ।

घटनाको प्रकृति हेरेर प्रहरीले हत्या भएको आशंका गरेको थियो । प्रारम्भीक अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको हतियार घरेलु चक्कु तथा झाको कोठाको झ्यालको जाली काटिएको देखिए पनि प्रहरीले घटनाको वास्तविक तथ्य अहिले सम्म पत्ता लगाउन सकेको छैन ।

आफ्नै कोठामा घरेलु हतियार प्रयोग गरि, मानिस छिर्न नसक्ने झ्यालको जाली काटिएको अवस्था र ओच्छानमा सुतेका झा मृत अवस्थामा भेटिएकाले उनकै घरको कामदार प्रहरीको शंकाको घेरामा परेका थिए ।

तत्काल मुचुल्का उठाएर प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पतालमा पु-यायो । 

महानगरीय अपराध महाशाखाको टोलीले घटनाबारे छानबिनका लागि झाकै घरमा काम गर्ने माली, भान्से र गार्डलाई पक्राउ गरेको थियो । हत्यामा ति तीनै जनाको संलग्नता पुष्टि हुन नसकेपछि प्रहरीले उनीहरुलाई धरौटीमा रिहा ग-यो । झासँगै घरमा श्रीमती र दुई कामदार बस्दै आएका थिए ।

कहाँ पुग्यो अनुसन्धान ? 

हत्यामा प्रयोग भएको चक्कु लगायत घटनास्थलमा भेटिएका अन्य सबुत प्रमाणका बाबजुत पनि अनुसन्धान फितलो बन्दै गइरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले झाको हत्याबारे अनुसन्धान भइरहेको बताएपनि अहिलेसम्म केही खास उपलब्धि हासिल गर्न सकेको छैन ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरिक्षक तथा प्रवक्ता नरेन्द्र उप्रेतीका अनुसार हत्या भएकै हो तर, हत्यारा पत्ता लगाउन अझै केही समय लाग्छ । यस घटनाको अनुसन्धानका निमित्त ‘विशिष्ट’ अनुसन्धान टोलीलाई खटाइएको जानकारी उनले लोकपथलाई दिए । 

उप्रेती भन्छन्, ‘शंकाको दायरामा केही व्यक्ति छन् । हामीले घटनास्थलमा पर्याप्त सबुतप्रमाण पनि भेटिसकेका छौं । अब ती सबुतलाई अभियुक्तसँग ‘कनेक्ट’ गरेर ‘निष्कर्ष’ मा पुग्न मात्र बाँकी छ ।’ 
अनुसन्धान तीव्र गतिमा भइरहे पनि अपराधी पत्ता नलागुन्जेल आधाअधुरो जानकारी सार्वजनिक गर्न नमिल्ने भएकाले अनुसन्धान ‘शून्य’ भएको आरोप लाग्ने उनको भनाइ छ । 

निर्मला पन्त बलात्कारपछि हत्या भएको १ सय १२ दिन बितिसक्यो । उनको बलात्कार र हत्या गर्ने को हो पत्ता लाग्न सकेको छैन । त्यस्तै पूर्व राजदुत झाको हत्या भएको ८८ दिन सम्म पनि रिजल्ट नआउने कस्तो खालको अनुसन्धान गर्दैछ प्रहरी ? यतिबेला आम नागरिकले उठाइरहेको ‘साझा’ प्रश्न हो यो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?