काठमाडौं । नेपाल खाद्य संस्थानले किसानबाट धान खरिद गर्ने भएको छ ।
खाद्य संस्थानले यस वर्ष किसानबाट ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको हो । संस्थानले आन्तरिक कार्यक्रमअन्तर्गत ९१ करोड रूपैयाँ बराबरको ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको बताइएको छ ।
सरकारले निधारण गरेको मूल्य सुचिअनुसार नै केही दिनमै धान खरिद प्रक्रिया शुरु गर्ने तयारी गरेको संस्थानले जानकारी दिएको छ ।
किसानलाई उचित मूल्य दिई सहुलियत दरमा चामल वितरण गर्न संस्थानले विभिन्न जिल्लाबाट धान खरिद गर्न लागेको हो । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार आन्तरिक कार्यक्रमअन्तर्गत ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको जानकारी दिए ।
‘अहिले हामीले ९१ करोड रूपैयाँ बराबरको धान खरिद गर्ने तयारीमा छौँ, अब आवश्यकताअनुसार धानको थप परिणाममा खरिद गर्दै जान्छौं ।” उनले भने ।
साथै उनले सरकारको निर्देशन अनुसार धान खरिद प्रक्रिया अगाडि बढाइएको पनि बताए ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले धान खरिद गर्न संस्थानलाई निर्देशन दिइसकेको छ । कूल उत्पादनको एक प्रतिशत धान खरिद गर्न सरकारले निर्देशन दिएको हो । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार संस्थानले धान खरिद गर्नेछ ।
सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ३ सय ३१ र मध्यम धान प्रतिक्विन्टल २ हजार ४ सय ६० रूपैयाँ मूल्य निर्धारण गरिसकेको छ । खाद्य संस्थानले गत वर्ष ५८ करोड रूपैयाँको १ लाख ८५ हजार क्विन्टल धान खरिद गरेको थियो ।
संस्थानले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सिरहा, धनुषा, पर्सा, रूपन्देही, मोरङ, झापालगायतका जिल्लाबाट धान खरिद गर्दै आइरहेको छ । गत वर्ष नेपालमा ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष मौसम अनुकूल भएकाले धानको उत्पादन बढ्न सक्ने कृषि विकास मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया