स्थगित ‘ए’ डिभिजन लिग शनिबारदेखि पुनः शुरु हुँदै

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ, तिहार र छट पर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता भोली ‘शनिबार’देखि पुनः सुचारु हुँदैछ । 

गत असोज १३ गतेबाट शुरु भएको ‘ए’ डिभिजन लिग बंगलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको थियो । 

लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसकेको अखिल नेपाल फुटबल संघ ‘एन्फा’का लिग कमिटीका लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । 

पहिलो चरणको खेल सकिँदासम्म मनाङ मस्याङदी क्लब, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै समान तीन-तीन अंक जोडेका छन् भने त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, च्यासल, मच्छिन्द्र, न्यूरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक-एक अंक जोडेका छन् ।

त्यसैगरी जावलाखेल, सरस्वती, फ्रेण्डस् र ब्रिगेडब्वाइज हार बेहोर्दै अंक विहीन छन् । 

शनिबारदेखि हुने दोस्रो चरणका पहिलो खेलमा मनाङ मस्याङदी क्लबले न्यूरोड टिम ‘एनआरटी’को सामना गर्दैछ । यी दुई क्लबबीचको खेल हल्चोक मैदानमा बिहान ११ बजेपछि शुरु हुनेछ ।

त्यस्तै शनिवार नै हुने दोस्रो खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबले सामना गर्नेछ । 

यता मंसिर २ गते मछिन्द्र क्लब र नेपाल पुसिल क्लबबीच पहिलो तथा ब्रिगेडब्वाइज क्लब र थ्रीस्टार क्लबबीच दोस्रो खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । 

मंसिर ३ गते जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेण्डस् क्लब र एपिएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ ।  तेस्रो चरणको खेल मंसिर ६ गतेदेखि शुरु हुनेछ । 

लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्रीस्टार, मनाङ मस्याङदी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम ‘एनआरटी’, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । 

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले सात लाख र छैटौँले पाँच लाख पाउनेछन् ।

‘फेयरप्ले’ टिमले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई ५० हजार तथा ‘म्यान अफ दि म्याच’ खेलाडीलाई १० हजार दिनेछन् । 

त्यस्तै लिग विजेता टोलीले ‘एएफसी’ एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।  ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो । 

फिफा रेफ्री सुदिसलाई कारवाही नगरे एनआरटीले लिग नखेल्ने 

यसैबीच न्यूरोड टिम एनआरटीले लिग नखेल्ने चेतावनी दिएको छ । एन्फाले फिफा रेफ्री सुदिस पाण्डेलाई कारवाही नगरेको भन्दै एनआरटीले लिग नखेल्ने बताएको हो । 

एनआरटीले रेफ्री पाण्डेको गलत निर्णयका कारण लिगको पहिलो खेलमा बराबरी खेल्नुपरेको बताउँदै रेफ्रीलाई कारवाहीको मागसहित एन्फामा निवेदन दिएको थियो । एक महीना बितिसक्दा समेत एन्फाले निवेदनका बारेमा केही निर्णय गरेको छैन । 

गत असोज १३ गते शुरु भएको लिगको उद्घाटन खेलमा एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले २–२ गोलको बराबरी खेलेका थिए । अन्तिम समयमा गोलकिपरले धेरै समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले आर्मीलाई डिबक्सभित्र फ्रि-किक दिएका थिए । 

त्यस्तै पहिलो हाफमा आर्मीलाई दिइएको पेनाल्टीको निर्णय समेत गलत भएको एनआरटीको दाबी थियो । क्लबले रेफ्रीको दुवै निर्णय एनआरटीलाई हराउने नियतले गरिएको भन्दै उचित छानबिन र कारवाहीको माग गर्दै एन्फामा उजुरी गरेको थियो ।

एनआरटी अध्यक्ष दीपकहर्ष बज्राचार्यले एन्फालाई कारवाही पत्रको विषयमा ध्यानाकर्षण गराए पनि उचित सम्बोधन नभएको बताए । 

“हामीले अगाडिबाटै एन्फालाई भन्दै आएका छौँ, तर एन्फाले निवेदनमाथि कुनै निर्णय लिएको छैन, यसबारे निर्णय नभए हामी लिगमा सहभागिता जनाउँदैनौँ ।” एन्फा महासचिव इन्द्रमान तुलाधरले एनआरटीको पत्रमा आन्तरिक छलफल भइरहेको बताउँदै चाँडै विवाद समाधान गरिने बताए ।  

“रेफ्रीको कारवाहीको विषय निकै संवेदनशील हो, निवेदनबारे छलफल अघि बढिरहेको छ, हामी सहमतिमा पुग्छौँ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?