निगमलाई बोक्नु न टोक्नु ‘वाइडवडी ए३३०’ : यसरी गुम्दै बजार हिस्सा

काठमाडौं । गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । 

नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको हो । आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन् । 

निगमले जारी गरेको स्वेतपत्रअनुसार अघिल्लो वर्षको तुलनामा निगमको बजार हिस्सा १.८ प्रतिशतले घटेको छ भने आन्तरिकतर्फ १.३ प्रतिशतले बढेको छ । तुलनात्मक रुपमा अघिल्लो वर्ष निगमको आन्तरिक बजार कमजोर थियो । 

निगमले हालै भित्र्याएको वाइड बडी ए३३० जहाजले नयाँ गन्तव्य पाउन सकेको छैन । पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको छ । वाइड बडी जहाजले जापान, कोरिया र रियादमा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जिएसए छनोट कार्य भइरहेको बताइएको छ । व्यवसायिक अवस्थालाई सुधार्न उक्त जहाजलाई लामो गन्तव्यमा यथासक्य चाँडो सञ्चालन गर्नुपर्ने स्वेतपत्रमा औँल्याइएको छ । 

निगमले बोइङ ७५७, एयरवस ३२० र वाइड बडी ए ३३० मार्फत विभिन्न सेक्टरमा दैनिक औसत ५.५७ उडान गर्दै आएको छ । निगमका अनुसार नयाँ दिल्लीमा हप्तामा १०, दोहा र दुबईमा समान सात उडान तथा हङकङ, क्वालालम्पुर, बैंकक, मुम्बई र बैंग्लोरमा हप्तामा समान तीन उडान गरी जम्मा ३९ उडान गर्दै आएको छ । 

निगमले आन्तरिक बजारतर्फ हाल आफ्नो आन्तरिक बजारलाई २५ वटा सेक्टरमा विस्तार गरेको छ । ट्रङक सेक्टरमा भद्रपुर, भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज, सिमरा, सुर्खेत र पोखरा उडान गर्छ भने स्टल सेक्टरतर्फ बागलुङ, बाजुरा, भोजपुर चौरजहारी, डोल्पा, जोमसोम, जुम्ला, लामीडाँडा, लुक्ला, मेघौली, मुगु, फाप्लु, रुकुम, सिमिकोट, ताप्लेजुङ र थामखर्कमा सेवा विस्तार गरेको छ । 

गत आव भन्दा चालू आवको साउन र भदौमा ‘सेट फ्याक्टर’ घटेको र यसलाई तत्काल उपयुक्त बजार व्यवस्थापन रणनीति बनाई अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । आन्तरिकतर्फ सम्पूर्ण सेक्टर गत आवमा ८३ प्रतिशत रहेकोमा चालू आवको साउनमा ६६ प्रतिशतमा आएको तथा भदौमा ७४ प्रतिशत ‘सेट फ्याक्टर’ रहेको निगमले जनाएको छ । 

निगमको अन्तर्राष्ट्रिय उडानतर्फ बजार अंश आव २०७०-७१ मा ५.६, आव २०७१-७२ मा ७.३५, २०७३-७४ मा ४ र २०७४-७५ मा ९.७५ प्रतिशत रहेको छ । निगमले दुई थान एयरवस ए ३२० थपे पश्चात निगमको बजार अंशमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४-७५ मा अन्तर्राष्ट्रियतर्फ निगमको बजार अंश केही तल झरेको देखिएको छ । आन्तरिक उडानतर्फ निगमको बजार अंश आव २०७४-७५ मा ३.३ बाट ४.६ प्रतिशत पुगेको छ । अन्तर्रा्ष्ट्रियतर्फ कार्गोमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४-७५ मा एक हजार २३१ टन कार्गो निगमले बोकेको छ । 

दीर्घकालीन कर्जा तथा ब्याज दायित्वले निगमलाई उच्च वित्तीय जोखिममा पारेको छ । अन्तर्राष्ट्रिय उडानका लागि हालै दुईवटा नयाँ वाइड बडी जहाज भित्र्याएको निगमले ऋणाभार बढी भएकै कारण अधिकृत पूँजी विस्तार गर्न सरकारलाई गुहारेको छ । 

निगमले नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अधिक रहेकाले तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय जोखिम न्यूनीकरणका लागि तत्काल पूँजी वृद्धि गर्नुपर्ने औँल्याएको छ । वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै सरकारको आर्थिक सहायता आवश्यक परेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए । 

“निगमलाई कर्जाको असमानताले तत्कालै आर्थिक समस्या देखिएको हो, वित्तीय सन्तुलन र व्यावसायिक योजनालाई प्रभावकारी बनाउन सरकारसँग पूँजी अभिवृद्धिका लागि आग्रह गरेका हौँ”, उनले भने । निगमसँग अन्तर्रा्ष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ए ३३० जहाज, दुई थान न्यारो बडी ए ३२० जहाज र एक थान बोइङ जहाज छन् । आन्तरिक उडानका लागि तीन टुइनटर, दुई एमए–६० र चार थान वाई–१२ इ विमान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?