खुकुरी रम उत्पादन गर्ने दि नेपाल डिस्टिलरी १ अर्ब ६१ करोडमा बिक्री

काठमाडाैं : भारतीय व्यापारिक घराना कनोर्इ परिवारले खुकुरी रम उत्पादन गर्ने 'दि नेपाल डिस्ट्रिलरी' १ अर्ब ६१ करोड रूपैयाँमा बेचेको छ । 

सिंगापुर निवासी गैह्रअावासीय नेपाली शरदकुमार टिवटेवाला र थापाथलीस्थित नर्भिक अस्पतालका सञ्चालक बसन्त कुमार चाैधरीले ५९ बर्ष पुरानो यो कम्पनी खरिद गरेका हुन् । कम्पनी खरिदसँगै ८०% स्वामित्व टिवटेवाल र २०% स्वामित्व चाैधरीले लिएका छन् । 

गत माघमा पशुपति प्लानर्शले यो कम्पनीको ३१ हजार ४ सय २८ कित्ता शेयर (५%) खरिद गरेको थियो । पशुपति प्लानर्शमा बसन्त चाैधरीको बीएलसी होल्डिङ्स र टिवटेवालको स्वामित्व रहेको थियो । टिवटेवालको शतप्रतिशत स्वामित्व रहेको एमसीकेटी होल्डिङले पनि गत माघमा नै २५ हजार ४ सय ४ कित्ता शेयर खरिद गरेको थियो । कम्पनी बिक्रीपश्चात कनोर्इ परिवारले पूँजीगत लाभकरबापत नेपाल सरकारलार्इ ४० करोड १० लाख ८९ हजार रूपैयाँ राजस्व तिरेको छ ।

यो कम्पनी सन् १९५९ मा जमसेद जी कन्ट्रयाक्टरले स्थापना गरेको थियो । करिब १५ बर्षअघि यो कम्पनीको स्वामित्व भारतको कलकत्तास्थित व्यापारिक घराना कनोर्इ परिवारले लिएको थियो । कनोर्इ पश्चिम बंगालमा चिया कारोबारमा संलग्न छ । 

यो कम्पनीको अधिकृत पूँजी १ करोड रूपैयाँ छ । ५६ लाख ८३ हजार २ सय रूपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको ५६ हजार ८ सय ३२ कित्ता शेयर छ । कम्पनी बिक्री हुनुअघि कम्पनीको सबै शेयर पिडिके र्इम्पेक्ससँग रहेको थियो । 

अब यो कम्पनीमा एमसिकेटी होल्डिङको ७५%, बसन्त चाैधरीको २०% र शरद टिवटेवालको ५% शेयर हिस्सा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?