भारत समूह ‘बी’को विजेता बन्दै महिला विश्वकपको सेमिफाइनलमा

एजेन्सी । भारत समूह ‘बी’को विजेता बन्दै जारी ‘आईसीसी’ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शनिवार राति सम्पन्न भएको समूह चरणको अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई ४८ रनले पराजित गर्दै समूह विजेताको रुपमा अघिल्लो चरणमा पुगेको हो । 

भारतले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया १९ ओभर ४ बलमा अलआउट हुँदै मात्र १ सय १९ रनमा समेटिएको थियो । अष्ट्रेलियाका लागि एलेक्सजेन्ड्रा पेरीले अविजित ३९ रन तथा एस्लिघ गार्डनरले ३० रनको योगदान दिइन् । 

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतकी अनुजा पाटिलले सर्वाधिक ३ तथा दिप्ती शर्मा, राधा यादव र पुनम यादवले समान २-२ विकेट हात पारिन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँलै १ सय ६७ रनको योगफल तयार पारेको थियो ।  भारतका लागि स्मृति मन्धनाले ८३ रनको अर्धशतकीय इनिङस खेल्दा कप्तान हर्मानप्रित कौरले ४३ रनको योगदान दिइन् ।

जितपछि भारत ४ खेलबाट ८ अंकका साथ सेमिफाइनलमा पुगेको हो । त्यस्तै ६ अंक बनाएको अस्ट्रेलिया उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?