इटलीमा बिहे गरेर मुम्बई फर्किए दीपिका–रणवीर

मुम्बई । बलिउड हस्ती दीपिका पादुकोण र रणवीर सिंह इटलीमा बिहे गरेर आज भारत फर्किएका छन् । आइतवार मुम्बई आएको यो जोडीलाई फ्यानले बधाई दिए ।

बुधवार इटलीको लेक कोमोमा कोंकणी रीतिअनुसार बिहे भएको थियो । भारत ओर्लिएपछि यो नवविवाहित जोडी पहिले एअरपोर्टमा र त्यसपछि आफ्नो अपार्टमेन्टबाट आफ्ना प्रशंसकलाई अभिवादन गरेका गर्दै तस्वीर समेत खिचाएका थिए ।

बलिउडको चर्चित बिहेमा रणवीर–दीपिकाको बिहेलाई पनि हेर्ने गरिएको छ । यी दुईले बिहेमा एकदमै नजिकका साथी र आफन्तलाई मात्र निम्ता गरेका थिए ।

रणवीर र दीपिकाको बिहे पहिलेदेखि नै चर्चामा थियो । पछिल्लो महिना जब यो जोडीले आफ्नो बिहेको मिति घोषणा गरे, त्यतिबेला उनीहरुले बिहेको कार्ड पठाए । उक्त कार्ड हिन्दीमा नै छपाइएको थियो ।

फिल्मकर्मीका अनुसार यी दुईबीच फिल्म ‘रामलीला’ को शूटिङको बेलामा प्रेम भएको थियो । उनीहरुले बाजिराव मस्तानी र पद्मावत् मा पनि एकसाथ काम गरे । तीनै फिल्मले राम्रो चर्चा पाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?