भारतीय अन्तर्राष्ट्रिय व्यापार मेला: नेपाली उत्पादनका स्टलमा अवलोकनकर्ताको भिड बढ्दो

भारत । दिल्लीमा जारी अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागि नेपाली उत्पादनका स्टलमा अवलोकनकर्ताको भिड बढेको बताइएको छ । 

इन्डिया ट्रेड प्रमोशन अर्गनाइजेसनको आयोजनामा भएको सो मेला मा नेपालका तर्फबाट विभिन्न घरेलु उत्पादनका सातवटा स्टल रहेको र १० वटा व्यावसायिक फर्मले सहभागिता जनाएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले बताए । 

गत बुधवारदेखि नयाँ दिल्लीको प्रगति मैदानमा भइरहेको यो मेला दुई सातासम्म चल्नेछ । 

मेलामा नेपाल फोकस कन्ट्रीका रूपमा छ भने अफगानिस्तान पार्टनर कन्ट्रीको रूपमा छ । मेलामा नेपालका तर्फबाट काष्ठकलाका सामग्री, सोभिनियर खुकुरी, धातुबाट निर्मित सामग्री, पश्मिना, हस्तकलाका सामग्री, लुपम्याट डोरम्याट, थाङ्का आर्टका घरेलु सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको दाहालले जानकारी दिए । 

विश्वबजारमा नेपाली उत्पादनको निर्यात प्रवद्र्धनमा सरकारी स्तरबाट संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको व्यापार तथा निकासी केन्द्रकै व्यवस्थापनमा नेपाली उत्पादनले सो मेलामा सहभागिता जनाइरहेका छन् भने दिल्लीस्थित नेपाली दूतावासले नेपाली स्टलमा सहजीकरण गरिरहेको दाहालले बताए ।

मेलामा सहभागी मुलुकबाट घरायसी सामान, विद्युतीय सामग्री, जुटजन्य वस्तु, कपडा, कस्मेटिक सामान, गरगहना, मेसिनरी सामग्री, कृषिजन्य वस्तु, स्वास्थ्यसम्बन्धी उपकरण, छाला तथा छालाजन्य सामग्री, इलेक्ट्रिक सामान प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।

भारतीय अन्तर्राष्ट्रिय व्यापार मेलाको यो ३८ औं संस्करण हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?