यौनकर्मीहरू जोडिए मानव सेवामा, अस्पतालमा दिन थाले ‘बिरामी कुरुवा सेवा’

सुनसरी । बाध्यात्मक रुपमा देह कार्यमा सम्लग्न यहाँका महिला यौन तथा प्रजनन् स्वास्थ्यमा सचेत हुँदै  मानवीय सेवामा समेत जुटेका छन् ।

उनीहरुले लामो समयदेखि अस्पतालमा रहेका र कोही नभएका बिरामीको हेरचाह एवम् स्याहार सुसार गर्न ‘बिरामी कुरुवा सेवा’ थालनी गर्दै मानवीय सेवाको कार्य शुरु गरेका हुन् ।  

बाध्यात्मक देहकार्य सम्लग्न महिलाको अधिकारको क्षेत्रमा कार्यरत् संस्था जागृति महिला महासंघमा आवद्घ महिला सहयोगी समूह मार्फत् उनीहरुले अहिले देशका विभिन्न अस्पतालमा पुगी बिरामीको आवश्यकता अनुसार कुरुवा बसेर मानवीय सेवामा नयाँ उदाहरण देखाएका हुन् ।

यहाँका सो कार्यमा संलग्न महिलाले काठमाडौंको ट्रमा सेन्टर, विराटनगर, जनकपुर र पोखरा स्थित प्रदेश अस्पताल, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराजस्थित गजेन्द्रनारायणस्मृति अस्पताल तथा स्थानीय अस्पतालहरुमा पुगी धेरै विरामीका हेरचाह गरिसकेका छन् । “विरामी कुर्ने मान्छे नभएका विरामीलाई अस्पतालसम्म पुगी उनीहरुको सेवा गर्छाै । अस्पतालमा रहँदा विरामीका लागि आइपर्ने काममा सहयोग गर्छाै ।” समूहका सल्लाहकार विमला मल्ल ठकुरीले भने । 

अस्पतालमा बिरामीका कोही पनि कुरुवा नभएको भन्ने जानकारी संस्थासम्म कसरी आइपुग्छ त ? भन्ने जिज्ञासामा उनले भने, “स्थानीय सञ्जालका साथि, सञ्चारमाध्यम, फेसबुक लगायतलाई उपयोग गरिराखेका छौं । अहिलेसम्म जानकारी पाइएकै छ ।”

“रुखबाट लडेर ढाड सहित खुट्टा भाँचिएका रामेछापका एक विरामीलाई काठमाडौं ट्रमा सेन्टरमा राखिएको रहेछ । उनीको कोही नरहेको जानकारी संस्थामा आयो । संस्थाका दिदीहरुले जाउ भन्नुभयो । भदौ महिनामा २० दिन काठमाडौं बसेँ । उनलाई स्याहार गरेँ ।” आफ्नो परिचय नदिईकन समूहका एक सदस्यले बताइन् । 

“अस्पतालमा बस्दा खर्च कसरी चलाउनुहुन्छ ?” संकलन भएका पैसा सहित संस्थाले केही आवश्यक खर्च दिने गर्छ, उनले बताइन् । 

“हालैमात्र म सरकारी जनकपुर अस्पतालमा एकजना वुढीआमाको कुरुवामा एकहप्ता बसेँ ।  खाना खुवाएँ । फोहर कपडा धोएँ । दिशा पिशाव सफा गरेँ” संस्थाका पूर्व अध्यक्ष ठकुरीले भने । 

उसो त सो समूहले इटहरी नजिककै मुसहर बस्तीमा हात धुने कार्यक्रम आयोजना गरेको थियो । “हात धुने तरिका, यसका महत्व, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अधिकार, परिवार नियोजनका बारेमा पनि जानकारी गरायौँ” एक यौनकर्मीले सुनाइन् ।

गत वर्षको सुनसरी र मोरङका बाढी पीडित महिलालाई स्यानिटरी प्याड निःशुल्क वितरण गरेको थियो । यो कार्य निरन्तर जारी रहेको छ । समूहमा आवद्ध महिलाले आफैँ स्यानिटरी प्याड बनाउने तालिम लिई सीप सिकेका छन् । उनीहरुको कार्यालयमा स्यानिटरी प्याड बनाउने उपकरण समेत रहेको छ । 

विना कण्डम यौन सम्पर्क गर्न दिँदैनौं  

हाल संस्थामा दुईसयभन्दा वढी महिला आवद्ध रहेका छन् । ती मध्ये हालसम्म एकजनामा एचआईभी पोजेटिभ नदेखिएको उनीहरु दाबी गर्छन् । “आवश्यकता अनुसार संस्था मार्फत् नै समय समय रगत परीक्षण गराउँछौ, हालसम्म एकजनामा पनि एचआईभी पोजेटिभ देखिएको छैन, यसमा हामी समेत छौँ” उनीहरु सामूहिक रुपमा भन्दछन् ।

दाङ, प्यूठान लगायत जिल्लाबाट आएर महिला वाध्यात्मक देह कार्यमा लागेका । वरिपरिका जिल्लाका महिला सो कार्यमा संलग्न रहेका छन् । “हामी कण्डम नलगाउने पुरुषसित यौन सम्पर्क गर्दैनौँ । यौन सम्पर्क हुनुपूर्व नै कण्डम लगाउन भन्छौं । उसले कण्डम ल्याएको रहेनछ भने हामी आफैँ कण्डम दिन्छौँ” एक महिलाले भनिन् ।

उसो त संस्थाले आफ्नो सम्पर्कमा आउने २० वर्ष मुनिका किशोरीलाई देह कार्यमा  प्रतिवन्ध लगाएको छ । साथै जवरजस्ती यौन कार्यमा सम्लग्न हुने र लगाउनेलाई कानुनी दायरामा पु¥याउने कार्य समेत सस्था आफैंले गर्दछ । “विद्यालय तथा कलेजबाट पढ्दा पढ्दै  भागेर हाम्रो सम्पर्कमा आएकालाई सम्झाई बुझाई हामी घर फर्काउन कोशिश गर्छाै । अन्य पेशामा सम्लग्न हुन भन्छौँ” यौनकर्मी अर्की महिला बताउँछिन् ।

बाध्यात्मक देह कार्यमा सम्लग्न महिलाका अनुभव आ आफ्नै रहेका छन् । “एकवर्ष अगाडि एउटा कार्यक्रममा सहभागी हुन विराटनगर गएका थियौँ । कार्यक्रमस्थलको पहिलो पंक्तिमा बसेका थियौँ । अतिथिले मलाई देख्नु भो । अनुहार रातोपिरो पार्नुभो । हामी पछाडिको पंक्तिमा बस्न गयौं । हतार हतार कार्यक्रमस्थलबाट बाहिरिनु भो ।” देह कार्यमा सम्लग्न एक महिलाले सुनाइन् । 

“सुरक्षित यौनसम्पर्क गर्न पाउनु त हाम्रो अधिकार हो । बेला बेलमा प्रशासनबाट हामीलाई नराम्रो दृष्टिले  हेरिन्छ । अमानवीय व्यवहार एवम् दुःख दिईन्छ । यो कार्य बन्द हुनु जरुरी छ । यौन सम्पर्क गर्न पुरुषलाई जवरजस्ती गरेका छैनौँ” उनीले भनिन् । 

“देहकार्यबाट आएको आम्दानीले छोराछोरी दुवैको विवाह गरिसकेँ । घर परिवारमा मैले अपनाएको पेशाका बारेमा जानकारी छैन । यो मेरो रहर होइन, बाध्यता हो । म पेशा परिवर्तन गर्न चाहन्छु” उनीले भनिन् । 

यौनकर्मीले आफ्नो आम्दानी छोरा छोरी पढाउने, आमा बाबुको औषधि उपचार लगायत  घर परिवारमा खर्च गर्ने गरेको बताउँछन् । केहीले त घरघडेरी समेत जोडेका छन् । “घडेरी किनेँ, अब घर बनाएपछि मात्र पेशा परिवर्तन गर्ने सोचमा छु” संस्थामा आवद्ध यौनकर्मीले बताइन् ।

उनीहरुले आफुले पेशा परिवर्तन चाहने तर विकल्प सरकारले दिनुपर्ने माग गरेका छन् । “आय आर्जनका अन्य विकल्प सरकारले दिए, आफूहरु पेशा परिवर्तन गर्छौँ” उनीहरुले एकै स्वरमा सुनाए ।  

बाध्यात्मक देह कार्यमा सम्लग्न महिलाको अधिकार, यौन रोग तथा प्रजनन् स्वास्थ्यका बारेमा नेपाल परिवार नियोजन संघले पैरवी गर्दै आएको छ । संघका सुनसरी जिल्लाका कार्यक्रम व्यवस्थापक डम्बर श्रेष्ठ यौनकर्मी महिलालाई अन्य आय आर्जनमा फर्काउन निरन्तर पैरवी गर्दै आएको बताउछन् । 

उनले भने, “असुरक्षित यौन सम्पर्कले ल्याउने जोखिमका बारेमा निरन्तर शिक्षा, प्रजनन अधिकारको पैरवी तथा यौनरोग र एचआईभी संक्रमण हुन नदिन कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

संघका पैरवी अधिकृत जमुना सिटौला यौन तथा प्रजनन स्वास्थ्य, लैङिगक हिंसा अन्त्य, यौनिकता परामर्श, परिवार नियोजन, सुरक्षित गर्भपतन, यौन रोग, एचआईभी÷एड्स संक्रमण रोकथाम, प्रसुती तथा स्त्रीरोग सेवा निरन्तर ६० वर्षदेखि सञ्चालन गरिरहेको जानकारी दिए । 

उनी भन्छिन् “आय आर्जनका अन्य तालिम दिई वाध्यात्मक रुपमा देह कार्यमा सम्लग्न महिलालाई पेशा परिवर्तन गराउन संघले आफ्ना कार्यक्रम मार्फत् उत्प्रेरण गरिरहेको छ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?