अमेरिका चीनबीच फेरि आरोप प्रत्यारोप

पपुवा न्यूगिनी- एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को शनिबारको सम्मेलनमा संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार, लगानी र क्षेत्रीय सुरक्षाबारे परस्पर विरोधी प्रतिक्रियाले सम्मेलनका अन्य एजेन्डालाई छायाँमा पारिदिएको विश्लेषकहरूले बताएका छन् ।

सम्मेलनका सहभागीबीच भएको भिन्न मतले विश्वलाई तरङ्गित पारेको संरक्षणवादी व्यापार नीतिलाई सच्चाउन अमेरिका र चीनबीच सहमति जुट्ने सम्भावनालाई थप पर धकेलेको छ ।

पपुवा न्यूगिनीको राजधानीमा भएको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिन पिङले संरक्षणवाद र एकाधिकारवादको छायाँले विश्वको विकासमा नकारात्मक प्रभाव पारेको अप्रत्यक्ष चेतावनी अमेरिकालाई दिए ।

राष्ट्रपति सीको सम्बोधनले केही आक्रोसित बनेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकाले चिनियाँ सामानमाथि गरेको करवृद्धिमा बेइजिङले आफ्नो बाटो नसच्चाएसम्म पुनरावलोकन गर्न नसकिने बताए ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको गतिरोधलाई देखाउँदै एपेक नेताहरूको घोषणा तयारीमा लागेका एक कुटनीतिज्ञले भने , “व्यापार बिषय नै घोषणापत्रका लागि मुख्य विन्दू भएको तर सबैलाई मान्य हुने भाषा खोज्न आयोजक राष्ट्रलाई कठिनाई भएको छ ।”

बेल्ट एन्ड रोड कार्यक्रमका मार्गदर्शक सीप्रति प्रत्यक्ष्य लक्षित गर्दै प्रशान्त क्षेत्रीय मुलुकहरूले आफ्नो सार्वभौमसत्तालाई सम्झौता गरेर कर्जा लिनु नहुने अमेरिकी उपराष्ट्रपति पेन्सले बताए।

हामीले बेल्ट एण्ड रोड अथवा एकतर्फी सडक कार्यक्रमलाई खुम्च्याउन चाहन्नौँ, पेन्सले एपेक सम्मेलनलाई सम्बोधन गर्दै भने ।

प्राकृतिक साधनस्रोतले सम्पन्न प्रशान्त क्षेत्रका नेताहरूको मन जित्न चीनले गरेको प्रयासमा परम्परागत रूपमा आफ्नो दवदवा राख्दै आएका अष्टे«लिया र संयुक्त राज्य अमेरिकाले विशेष चासो दिएर हेर्दै आएका छन् ।

एपेक सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा उनका रसियाली समकक्षी भ्लादिमिर पुटिन दुबै उपस्थित भएनन् ।

पोर्ट मोरेस्बीमा रहेका चिनियाँ राष्ट्रपतिलाई पपुवा न्यूगिनीका अधिकारीहरूले शुक्रकार सम्मान गरेपछि यसले अमेरिका तथा पश्चिमा अन्य मूलकहरूको चासो बढाएको छ । पीएनजीका अधिकारीसँगको बसाईमा सीले बेल्ट एन्ड रोडबारे आफ्ना धारणा राखेका थिए।

सीले सन् २०१३ मा घोषणा गरिएको बेल्ट एन्ड रोड कार्यक्रमका पछाडि भूराजनितिक एजेन्डा नभएको तर दक्षिणपूर्वी एसिया, मध्य एसिया, मध्यपूर्व, यूरोप र अफ्रिकाका जमिन र पानीको मार्र्ग जोड्ने सडक सञ्जाललाई मजबुत पार्ने उद्देश्य रहेको बताए ।

उनले थपे, “यसले कसैलाई बाहिर पार्दैन । यो गैर–सदस्यहरूसँग सम्बन्ध नचाहने क्लब पनि होइन । न त यो केही व्यक्तिहरूले भन्ने गरेजस्तो कसैलाई फन्दामा पार्न ल्याइएको कार्यक्रम नै हो ।” “केही साना मुलुकहरू, जसले भौतिक संरचनाका लागि हस्ताक्षर गरेका छन्, उनीहरूलाई कर्जाको भारसहित छोडिनसक्नेप्रति विश्व समुदायले चासो व्यक्त गरेको छ, पेन्सले स्पष्ट पारे ।

अमेरिकी उपराष्ट्रपतिले थपे, “तपाईहरूले आफ्नो सार्वभौमसत्तालाई सम्झौता गरेर विदेशी कर्जा स्वीकार नगर्नुस् । आफ्नो स्वतन्त्रता जोगाउनुस् र अमेरिकाजस्तै आफ्नो मुलुकलाई पहिलो प्राथमिकतामा राख्नुस् ।”
श्रीलङ्काले गत डिसेम्बरमा चिनियाँ कम्पनीलाई देशको दक्षिणी बन्दरगाह हाम्वोन्टोटामा व्यवसायिक गतिविधि गर्न औपचारिक रूपमा अनुमति दिएको थियो । श्रीलङ्काले चीनसँग लिएको छ अर्ब अमेरिकी डलर कर्जालाई शेयरमा रूपान्तरण गर्न सहमत भएको छ ।

पेन्सपछि बोल्दै अष्टे«लियाली अधिकारीले भने, “अष्टे«लियाले जापान र अमेरिकासँग सहकार्य गर्दै प्रशान्त क्षेत्रको भौतिक संरचना विकासका लागि चीनको बेल्ट एन्ड रोडको सम्भावित विकल्पमा सहयोग गर्नेछ ।“

नोभेम्बरको अन्त्यमा अर्जेन्टिनामा जी–ट्वान्टी सम्मेलनको अबसरमा हुने भेटमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपतिबीच व्यापारबारे देखिएको बर्तमान् विवादलाई सहज बनाउन केही पहल हुने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?