‘ए’ डिभिजन लिग : जावलाखेलविरुद्ध संकटाको सहज जीत

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत संकटा क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको पहिलो खेलमा संकटा क्लबले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । खेलको १९ औँ मिनेटमा एलोन म्यास्कवेलले दोहोरो पहेलो कार्ड खादै रातो कार्ड पाएपछि संकटा १० खेलाडीमा सिमित भएको थियो ।

जारी लिगमा दिएको यो पहिलो रातो कार्ड हो । दोस्रो हाफमा सुधारिएको खेल खेलेको संकटाका लागि एबाले खेलको ५८ औँ मिनेटमा पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै उनले ८६ औँ मिनेटमा गोल गरेपछि जावलाखेल स्तब्ध बनेको थियो । खेलमा एबा प्लेयर अफ दी म्याच समेत चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

जितपछि संकटा क्लबले ६ अंक बनाएको छ । यसअघि भएको पहिलो चरणको खेलमा संकटा क्लबले सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?