खशोग्जी हत्याका टेप सुन्नै नसकिने : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” भएको उनले बताएका छन् ।  

साउदी अरेबिया सरकारका कटु आलोचक अर्थात् अमेरिकी पत्रिका ‘द वासिङ्टन पोष्ट’ का स्तम्भ लेखक खशोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो । 

टेप पीडादायी र हिंसात्मक भएको यस टेपको पूरा विवरण आफूलाई प्राप्त भएको ट्रम्पले अमेरिकी टेलिभिजन “फक्स न्यूज”लाई दिनुभएको एक अन्तर्वार्तामा बताएका छन् । 
प्रत्यक्ष रुपमा सो टेप नसुने तापनि आफूलाई पूरा विवरण प्राप्त भएको उनले बताएका छन् । 

आगामी दुई दिनमा ट्रम्प प्रशासनले पूरा प्रतिवेदन दिने अर्थात् हत्यामा कसैको प्रत्यक्ष सहभागिता रहेको सो प्रष्ट गरिने ट्रम्पले शनिबार बताएका थिए । अहिलेसम्म अप्रष्ट समाचारहरु प्राप्त गरेको पनि उनले बताएका छन् ।  

साउदी पत्रकार खशोग्जीको हत्याको विषयमा अमेरिकी अनुसन्धानका विवरणहरू बाहिर आइरहेका छन् । अमेरिकी गुप्तचर निकाय सिआईएको निष्कर्षमा पत्रकार खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमान आफैँले दिएका थिए भन्ने विवरण बाहिर आइसकेको छ । 

तर ट्रम्पले ती विवरणहरू अपुष्ट भएको बताउँदै आफ्नो देशको एक प्रमुख मित्र साउदी अरेबियालाई गुमाउने पक्षमा नरहेको स्पष्ट गर्नुभयो । साउदी अरेबियाले खशोग्जीको हत्यामा आफ्ना युवराजको कुनै भूमिका नरहेको बताउँदै आएको छ । 

खशोग्जी एक चर्चित पत्रकार थिए । उनले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखेका थिए ।  

दशकौँसम्म खशोग्जी साउदी राजपरिवारको निकट रहनु भएको र सरकारको सल्लाहकारका रूपमा पनि उहाँले काम गर्नु भएको थियो । तर पछि उनले राजपरिवारको विश्वास गुमाउनु भएको थियो । गत वर्ष उनी  अमेरिकामा निर्वासनमा गएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?