इपिएल क्रिकेटको पहिलो खेलमा विराटनगर र ललितपुर भिड्ने

काठमाडौं । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल विराटनगर वारियस र ललितपुर प्याट्रिओट्सबीच हुने भएको छ । 

आयोजक एभरेष्ट प्रिमियर लिग प्रा.लिले सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा साविक विजेता विराटनगर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । 

विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । 

राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई÷दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । 

यही मङसिर २३ गते ललितपुर प्याट्रिओट्स र चितवन टाइगर्स तथा दोस्रो खेल भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ । मङ्सिर २४ गते चितवन र काठमाडौँ तथा पोखरा र ललितपुरबीच खेल हुनेछ ।

२५ गते विराटनगर र पोखरा तथा चितवन र भैरहवाबीच खेल हुने आयोजनकले जनाएको छ । 

मङ्सिर २६ गते भैरहवा र विराटनगर तथा काठमाडौँ र ललितपुरबीच खेल हुनेछ । मङ्सिर २८ गते विराटनगर र चितवन तथा पोखरा र काठमाडौँबीच खेल हुनेछ । २९ गते भैरहवा र काठमाडौँ तथा चितवन र पोखराबीच खेल हुनेछ ।

आगामी पुस १ गते ललितपुर र भैरहवा तथा २ गते भैरहवा र काठमाडौंबीच लिग चरणको अन्तिम खेल हुनेछ ।

मङ्सिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले समेत मान्यता दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितालाई आईसीसीले मान्यता दिएको प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।

अहिले नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान आइसिसीको निलम्बनमा रहेका कारण नेपालमा क्रिकेट प्रतियोगिता गर्दा आयोजकले आईसीसीको मान्यता लिनुपर्ने प्रावधान छ । 

गत वर्षदेखि इपिएलले आईसीसीको मान्यता लिएर प्रतियोगिता गर्दै आएको छ । आईसीसीको मान्यतापछि विदेशी खेलाडीलाई समेत लिग खेल्ने बाटो खुलेको छ ।

यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । गत संस्करणदेखि एक टोलीले तीनजना विदेशी खेलाडी राख्नुपर्ने प्रावधान गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?