बाढीपीडितको बाध्यताः बाँसका टहरामा जाडोको बास

लमही ।  दाङको बाढीपीडित क्षेत्रमा बाँसैबाँसका टहरा देख्न सकिन्छ । बाँसका टहरामा बस्नुपर्ने बाढीपीडितको बाध्यता बनेको छ । विसं २०७१ मा आएको बाढीले घर बगाएपछि पीडितले अझै घर बनाउन सकेका छैनन् । उनीहरु अहिलेसम्म बाँसका टहरामा नै बस्दै आएका छन् । 

हिउँदमा टहरामा बस्न मुश्किल हुने तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका बाढीपीडित जीतबहादुर चौधरी बताउँछन् ।  । “वर्खामा बाढी भित्रै पस्ने समस्या हुन्थ्यो”, उनले भने, “हिउँदमा जाडोले सताउने गर्छ ।” सरकारले घर निर्माणका लागि रु ७५ हजार उपलब्ध गराएको अर्का बाढीपीडित शरद चौधरीले गुनासो गरे । “बाँस कुहिएकाले भत्किने डर छ,” उनले भने । 

जिल्लाका बाढीपीडितले चार वर्षसम्म घर बनाउन सकेका छैनन् । सरकारले रकम नदिँदा उनीहरुले घर निर्माण गर्न नसकेका हुन् । सरकारले राहत रकम चार किस्तामा उपलब्ध गराउने भने पनि अहिलेसम्म दुई किस्ता मात्रै दिएको चौधरीले बताए । 

भवन डिभिजन कार्यालयका इञ्जिनीयर सन्तोष यादव राहत रकम उपलब्ध गराउने काम जिल्ला प्रशासन कार्यालयको भएको बताउँछन् । “भवन डिभिजन कार्यालयले घर निर्माणको नक्सा तयार पारिदिने हो, सोहीअनुसार जिल्ला प्रशासनले राहत उपलब्ध गराउने हो,” उनले भने। विसं २०७१ मा जग्गा भएका तर घर नभएका २५० परिवारलाई २५ हजारका दरले ६२ लाख ५० हजार राहत उपलब्ध गराइएको यादवले बताए। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश आचार्यका अनुसार बाढीले ३५९ घर पूर्ण रुपमा क्षति तथा २८२ घरमा आंशिक क्षति पु¥याएको थियो । 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?