प्राविधिक समस्याको जिम्मेवारी लगानीकर्ताले नै लिनुपर्ने गरि ब्रोकरले बनाए सम्झाैतापत्र

काठमाडाैं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कात्तिक २० गतेदेखि नेपालको पूँजीबजारमा अनलार्इनमार्फत शेयर कारोबार गर्ने प्रणाली शुरू गरिसकेको छ । तर, अनलार्इन कारोबार उद्घाटन गरेको एक सातासम्म पनि सिस्टमले काम नगरेपछि शेयर कारोबारमा अवरोध भयो भने बजार परिसूचक दोहोरो अंकले घट्यो । 

अनलार्इन कारोबार गर्न सकस भोगिरहेका ब्रोकर कम्पनीहरूको संस्था ब्रोकर एशोसियसनले फेरि लगानीकर्तालार्इ अप्ठ्यारोमा पार्ने केही बुँदासहितको सम्झाैतापत्र तयार गरेको छ । यो सम्झाैतापत्रमा लगानीकर्ताले पालना गर्नुपर्ने शर्तहरू उल्लेख छन् । 

अब सर्वसाधारण लगानीकर्ताले अनलार्इन कारोबार गर्दा सिस्टममा (प्रणाली) मा कुनै समस्याका कारण सम्पतीमा हानी नोक्सानी भए त्यसको जिम्मेवार लगानीकर्ता नै हुनुपर्ने उल्लेख छ । नेप्सेको अनलार्इन प्रणालीमा समस्या अाउँदा शुरूमै तनाब झेलेका लगानीकर्ताहरूले अब ब्रोकर कम्पनी र नियामक एवं बजारको प्राविधिक जोखिमको जिम्मेवारी पनि अाफैंले लिनुपर्ने भएको छ ।

ब्रोकर एशोसियशनले धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७५ को उपनियम १० अनुसार सम्झाैतापत्र तयार गरेको जनाएको छ । ३० वटा बुँदा रहेको सो सम्झाैतापत्रले अनलार्इन मार्फत शेयर कारोबार गर्दा हुन सक्ने जोखिम व्यवस्थापन र शेयर कारोबारलार्इ थप व्यवस्थित बनाउने एसोसियशनले दाबी गरेको छ । 

यस्ता छन् मुख्य शर्त : 

  • शेयर खरिदकर्ताले शेयर कारोबार गर्ने ब्रोकरमा भरिएको ग्राहक परिचय विवरण (केवाईसी) मा कुनै फेरबदल भएको खण्डमा छिट्टै विवरणहरु अध्यावधिक पर्ने,
  • लगानीकर्ताले कर्जा सूचना केन्द्रको कालो सूचिमा रहे नरहेको प्रमाणित निस्सा ब्रोकरलाई सुचित गर्नुपर्ने,
  • लगानीकर्ता कुनै न्यायीक निकायको कारवाहिमा परेमा, आर्थिक रुपमा टाट पल्टिएमा, विघटनमा गएमा, दामासाहीमा परेर आर्थिक अवस्थामा नकारात्मक परिवर्तन भएको खण्डमा ब्रोकरलाई जानकारी दिनुपर्ने,
  • ब्रोकरले अनलाइन कारोबार गर्न दिएको यूजर नेमर पासवर्ड परिवर्तन गरे पछि त्यसको गोपनियता स्वयं लगानीकर्ताको नियन्त्रणमा हुनुपर्ने,
  • अनलाइनबाट कारोबार गर्दा सिस्टम (प्रणाली)मा आएको समस्याको कारण लगानीकर्ताको सम्पत्तिमा कुनै हानी नोक्सानी भएमा त्यसको जिम्मेवारी लगानीकर्ता आफैले लिनुपर्ने, 
  • बिक्री भएको धितोपत्रको राफसाफमा कुनै समस्या भएमा त्यसको सम्पूर्ण जिम्मेवारी लगानीकर्ता आफैले लिनु पर्ने, 
  • लगानीकर्ताले शेयर बिक्री गरेपछि शेयरको आधार मूल्य ब्रोकरलाई राफसाफ हुनु भन्दा १ दिन पहिले नै दिनु पर्ने, आधार मूल्य फर्जि तथा गलत आधार मूल्यका कारण उत्पन्न हुने कानूनी तथा आर्थिक दायित्व लगानीकर्ता स्वयंले व्यहोर्नुपर्ने,
  • ब्रोकरले बिक्री भएको शेयरमा लाग्ने कर, शूल्क, दस्तुर तथा अन्य प्रणालीगत शूल्कहरु कट्टा गरेर मात्र बाँकी रकम शेयर लगानीकर्तालाई दिने, 
  • खरिद भएको शेयर कारोबार सम्पन्न भएको दोस्रो दिन (टि प्लस २) सम्ममा ब्रोकरले खरिदकर्ताको निक्षेप खातामा पठाई सक्नुपर्ने, 
  • कारोबार भएपछि लगानीकर्ताको मृत्यु भएमा दामासाहीमा परेमा, मगज बिग्रीएमा वा अन्य कारणले कारोबार राफसाफ हुन नसकेमा उक्त कारोबारको जिम्मेवारी निजको कानूनी उत्तराधिकारीले लिनुपर्ने, 
  • नेपाल स्टक एक्सचेन्जमा आदेश भई सकेको कारोबार रद्ध गरेमा सो कारणबाट उत्पन्न परिणाम लगानीकर्ता स्वयंले बहन गर्नुपर्ने,
  • ब्रोकरको काबु बाहिरको समस्याका कारण उत्पन्न हुने कुनै पनि परिस्थति उत्पन्न भएमा त्यसको कुनै जिम्मेवारी ब्रोकरले नलिने,
  • लगानीकर्ताले कारोबारको आदेश दिन लिखित मञ्जुरीमा दिई प्रतिनिधि राख्न सक्ने, तर उक्त प्रतिनिधिबाट भएको सम्पूर्ण कारोबार लगानीकर्ता आफैले गरे सरह हुने र हानी नोक्सानी पनि लगानीकर्ता स्वयले ब्यहोर्नुपर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?