भलिबल खेलाडी ललिता नाथको खेल यात्रा : रुकुमदेखि ‘न्यू डायमण्ड’को क्याप्टेन्सीसम्म

ललिता नाथ भलिबल खेलाडी हुन् ।

२१ वर्षे ललिता नेपालकै उत्कृष्ट भलिबल टिममध्ये एक ‘न्यू डायमण्ड’की क्याप्टेन पनि हुन् । समान्य छोरी मान्छे भन्दा अग्ली देखिने उनी आफ्ना खेलाडी साथीमाझ होची देखिन्छिन् ।

केही वर्ष अघिसम्म पनि ‘उचाइ’ले खासै महत्त्व नराख्ने नेपाली खेल क्षेत्रमा एकाएक खेलाडीको ‘उचाइ’ ले पहिलो प्राथमिकता पाउन थालेपछि ललिता केही चिन्तित बनेकी छिन् । आफ्नै टिमका साथी देखि प्रतिस्पर्धीसमेत आफूभन्दा अग्लो भएको उनी बताउँछिन् । तर, यसले उनको खेल कौशलतामा कुनै बाधा पु-याएको छैन । भन्छिन्, ‘हाइटले खासै फरक पारेको छैन । बरु, आफ्नो कमजोरीलाई ‘ओभरकम’ गर्ने कला विकास गर्न प्रोत्साहन गरिरहेको छ ।’ 

ललिताले आफ्नो कमजोरीलाई क्षमताले जितिसकेकी छिन् । ‘जुनसुकै खेलमा पनि विभिन्न टेक्निकहरु हुन्छन् । सबै टेक्निक जान्ने तर, एउटा टेक्निकमा पोख्त हुने’ उनी भन्छिन्, ‘त्यसमा आफूलाई यति तिखार्ने कि त्यो टेक्निकको नाम सुन्नासाथ सबैले आफूलाई याद गरुन् ।’

उनको अभिव्यक्ति एउटा अङ्ग्रेजी भनाइसँग ठ्याक्कै मेल खायो, ‘ज्याक अफ अल, मास्टर्स अफ वान’ । नभन्दै उनले यही शूत्र अपनाइन् । दिनरात नभनी ललिताले आफ्नो ‘जम्पिङ स्किल’लाई सुधार्ने अभ्यास गरिन् जसको परिणामस्वरुप आज उनलाई उत्कृष्ट ‘क्वीकर’का रुपमा चिनिन्छ । ४ वर्षसम्म आयोजना भएका विभिन्न प्रतियोगितामा ‘बेस्ट क्वीकर’को उपाधि हासिल गर्नुले पनि यही प्रमाणित गर्छ । 

‘शरीर’को कद लाई ‘क्षमता’को कदले जितेर नै होला ‘टिम क्याप्टेन’को रुपमा ललिताले आफ्ना ‘अग्ला’ साथीहरुलाई नेतृत्व गर्ने जिम्मेवारी पाएकी छिन् । आफ्नो मिहिनेतले उमङ्ग ल्याएको देख्दा उनी मख्ख छिन् । दङ्ग पनि । 


***
२०५४ सालमा रुकुमको सानो गाउँमा जन्मिएकी ललितालाई आफ्ना बुबाको अनुहार याद छैन ।

सिङ्गो देश नै द्वन्द्वकालको चपेटामा परेका बेला रुकुम अपवादमा रहने कुरै भएन । १० वर्षे द्वन्द्वकालले विशेषतः पश्चिम भेगका ठाउँमा बढी नै प्रभाव पा-यो । धेरैका छोरा, नाति, श्रीमान्लाई चुडाएर लगेको त्यस ‘कालो कालखण्ड’ले ललिताको बुबालाई पनि चुडाएर लग्यो ।

आफू सानै हुँदा बितेका बुबालाई ललिताले तस्वीरको सहायताले चिनेकी हुन् । ‘बुबाको आकृति स्मरण छैन तर, फोटो हेरेकी छु । कस्तो देखिनुहुन्छ भन्ने थाहा छ ।’ भावुक हुँदै उनले भनिन् । 

बुबाको मृत्युपछि उनी आफ्नी आमा र मामासँग दाङ आइन् । फेरि ८ वर्षको उमेरमा दाङबाट काठमाडौंको एक अनाथ घरमा बसाइ सरिन् । त्यसैले उनको बाल्यावस्था स्थिर रहेन । यद्यपी, अनाथ घरमा राम्रो वातावरण पाएको ललिता बताउँछिन् । ‘सबै आवश्यकता पूरा हुन्थे । खाने, बस्ने, पढ्ने, खेल्ने देखि सबै किसिमका सुविधा पाएका थियौं । बस्दै जाँदा त्यो ठाउँ मलाई अनाथ घर कम र आफ्नो घर बढी लाग्न थालेको थियो ।’ आफ्ना बाल्यकालका रमाइला दिन याद गर्दै उनले लोकपथलाई भनिन् । 

अनाथ घरका सबै बालबालिका एउटै स्कुल जान्थे । त्यसैले ६ कक्षासम्म उनी पनि ‘ब्राइट फ्युचर स्कुल’ नै गइन् । ७ कक्षा पुगेपछि मात्र ‘न्यू डायमण्ड’सँग उनको सम्बन्ध गाँसियो । ‘न्यू डायमण्डसँग मात्र होइन भलिबलसँग पनि ।’ उनले मुस्कुराउँदै थपिन् । 

आफूभन्दा साना बहिनीहरुले समेत उफ्री उफ्री बल फ्याँकेको देख्दा ललिताको मनमा पनि भलिबल खेल्ने रहर अङ्कुरण भयो । टुसाएको रहरलाई अभ्यासको मलजल हालेर उनले सपनाको वृक्षको स्वरुप दिने योजना बुनिन् । 

त्यसो त न्यू डायमण्ड जानु अघि उनलाई भलिबलका बारेमा केही थाहा थिएन । खेल्नु त निकै परको कुरा ललिताले अरुले भलिबल खेलेको समेत देखेकी थिइनन् । तर, आफ्नो नयाँ स्कुलमा उनले ‘भलिबल’को निकै क्रेज भएको पाइन् । केटा मात्र नभएर केटीको पनि छुट्टै भलिबल टिम थियो । आफूभन्दा साना बहिनीहरुले समेत उफ्री उफ्री बल फ्याँकेको देख्दा ललिताको मनमा पनि भलिबल खेल्ने रहर अङ्कुरण भयो । टुसाएको रहरलाई अभ्यासको मलजल हालेर उनले सपनाको वृक्षको स्वरुप दिने योजना बुनिन् । 

उनले बुनेको योजनाले उनलाई कल्पनामै भएपनि राष्ट्रिय, अन्तराष्ट्रिय मैदानसम्म पु-यायो । तर, यथार्थको धरातलमा फर्केर उनलाई पहिलो खुड्किलो पार गर्नु थियो, स्कुलको भलिबल टिममा ‘सेलेक्ट’ भएर । 

आफ्नो उचाइ बाधक बन्न सक्छ भन्ने अनुमान लगाएर नै उनी खेललाई निखार्नतर्फ लागिन् । नभन्दै उनको ‘जम्पिङ’ क्षमतालाई मध्यनजर गर्दै प्रशिक्षक कुमार राईले उनलाई टिममा समावेश गरे ।

यसरी ८ कक्षादेखि शुरु भएको उनको भलिबल यात्राले अहिले ७ बसन्त पार गरिसकेको छ । करिब एक दशक लामो यो समयमा आफूले सफलता र विफलता दुवै देखेको उनी बताउँछिन् ।मुस्कुराउँदै ललिता भन्छिन्, ‘हार्दा हार्दै जितेका र जित्दा जित्दै हारेका कैयौं प्रतिस्पर्धाको याद सँगाल्ने अवसर यही ७ वर्षले दियो ।’ 

हाम्रो अनुरोधमा उनले दुवै प्रकृतिका एक–एक घटनालाई स्मरण गरिन् । 

‘पहिला जित्दा जित्दै हारेको है ? यसपालिको एनबिए लिगमा हामीसँग मञ्जु गुरुङ, अरुणा शाही जस्ता उत्कृष्ट खेलाडीहरु हुनुन्थ्यो । बेस्ट अफ थ्रीको म्याचमा हामीले २ सेट लगातार जितिसकेका पनि थियौं । हाम्रो जीत लगभग पक्का थियो । तर, अन्तिमको सेट र त्यसपछि बाँकी २ सेट लगातार जितेर एपिएफले बाजी मा¥यो । यो खेल अत्यन्तै अविस्मरणीय छ ।’

‘अब हार्दा हार्दै जितेको ।’ हामीमा अर्को कथा सुन्ने कौतुहलता जाग्यो ।

‘यो गेम पनि एपिएफ सँगै भाको हो फेरि ।’ उनले हाँस्दै भनिन् । ‘दुवै टिम अरुभन्दा तुलनात्मक रुपमा स्ट्रङ भएकाले होला फाइनल्समा चाहिँ हाम्रै टक्कर पर्छ ।’ आफ्नो भनाइलाई थप प्रष्ट्याइन् ।

‘गेम चाहिँ पोखराको लामाचौरमा भाको थियो । हामीसँग रमिला दिदी लगायत टिमका अत्यन्तै राम्रा खेलाडीहरु हुनुहुन्थेन । त्यसैले, जित्ने आशा नै थिएन । तर, त्यो दिन खै कहाँबाट ‘एनर्जी’ आयो । सबैले दिलोज्यान लगाएर खेल्यौं अनि ‘असम्भव’ जस्तै लागेको जीत सम्भव भयो ।’ 

जे होस्, दुवै अनुभवले आफूलाई राम्रो पाठ सिकाएको उनी  बताउँछिन् । भन्छिन्, ‘दुःख पर्दा आत्तिने र सुख पर्दा मात्तिने गर्नु हुँदैन । जीवनमा अप्रत्याशित घटना हुनसक्ने रहेछन् ।’ 


***
स्थानीय तथा राष्ट्रिय स्तरका खेल खेलेरै यति धेरै अनुभव बटुलिसकेकी ललिताको एउटा सपना भने अधुरै छ ; राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय मैदानमा खेल्ने । 

एकातिर, आफ्नो सानो कदका कारण राष्ट्रिय टिममा छानिन लगभग असम्भव नै छ भनेर उनको मस्तिष्कले बारम्बार दोहो-याइरहन्छ । अर्कातर्फ, उनी आफैलाई पनि आफ्नो खेलस्तर खस्केको अनुभव भइरहेको छ ।

‘किन ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘उमेर बढ्दै गएपछि घरपरिवार, पढाइ लगायत अनेक जिम्मेवारी थपिन्छन् । समय र ध्यान धेरैतिर बाँडिए ।’ उनले थप्छिन्, ‘फेरि केही समय यता म गेममा निकै घाइते भएँ । अभ्यास गर्ने समय बेडरेस्ट गर्दै बित्यो ।’

यस कारण पनि आगामी दिनमा आफ्नो खस्कदो खेललाई सुधार्ने र खेलका अतिरिक्त अरु क्षेत्रमा पनि फैलिने प्रतिबद्धता उनले आफैसँग जनाएकी छिन् ।

आफ्ना दर्शकको माया र साथलाई नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि मान्ने ललितालाई आजकल खेल क्षेत्रबाट मात्रै जीवन चलाउन सम्भव छैन भन्ने अनुभूति हुन थालेको छ । त्यसैले, खेलाडीका अतिरिक्त ‘बिज्नेस वुमन’ बन्ने नयाँ सपना कसरी साकार पार्न सकिएला भनेर सोच्दै गरेको उनले लोकपथलाई बताइन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?