कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकका रूपमा काम गरिन् । तत्कालीन समयमा स्वास्थ्यको सहज पहुँच थिएन । नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो । स्वयंसेवकलाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनलाई छ ।
‘बत्तीस वर्ष मेरो समुदायका नागरिक विशेषगरी महिलासँग बित्यो । कतिले गाली गरे । कतिपयले घर भाँड्न आएकी भनेर आरोप लगाए’, उनले भनिन्, ‘कहिले घाम कहिले पानी गर्दै तीन दशक बितेको थाहै भएन । यो तीन दशकमा कति राम्रा कति नराम्रा काम भए होलान् । म मैले गरेको कर्मबाट निकै सन्तुष्ट छु ।’
चन्द्रावती शर्माले पनि २७ वर्ष महिला स्वास्थ्य स्वयंसेवकका रूपमा काम गरिन् । विसं २०५२ देखि महिला स्वास्थ्य स्वयंसेवकका रूपमा समुदायका प्रत्येक घर–घरमा पुगेकी उनी कुष्ठरोग निवारणका लागि समुदायमा सञ्चालन भएको अभियानका क्रममा समुदायबाट लखेटिएको स्मरण गर्छिन् । हुन त त्यसबेला अभियान सञ्चालन हुँदा कुष्ठरोगको नामबाट अभियान सञ्चालन गरिएको थिएन । सुदूरपश्चिममा तत्कालीन समयमा कुष्ठरोगलाई गलत तरिकाले व्याख्या गर्ने गरिन्थ्यो ।
‘कुष्ठरोग निवारणका लागि अभियान चलाउँदा स्थानीयले हामीलाई लखेटेको मलाई अहिलेजस्तै लाग्छ’, उनले भनिन्, ‘ ‘कैयौँ त्यस्ता दिन थिए जहाँ समाजले हाम्रोबारेमा राम्रोभन्दा नराम्रो व्याख्या गर्ने गरेका थिए ।’ आज आफूले गएको कामबाट उनी गर्व गर्छिन् । आज सानो समस्या पर्दा उनलाई खोज्दै आउने धेरै छन् । ‘कुनै महिलालाई समस्या हुँदा कैयौँपटक सल्लाह लिन आउँछन् ।
स्वास्थ्यका गतिविधि सञ्चालन हुँदा समुदायका नागरिकलाई सूचना पु¥याउने माध्यम महिला स्वस्थ्य स्वयंसेवक हुनुभएको छ’, उनले भनिन्, ‘हिजो यो कार्यमा लागेको सम्झिँदामात्रै पनि निकै पीडा हुन्थ्यो, आज गर्व लाग्छ ।’ नगरपालिकाको वडा नं ६ की सरस्वती चौधरी दुई दशकदेखि महिला स्वस्थ्य स्वयंसेवकको भूमिकामा छिन् ।
गाउँमा कोही बिरामी हुँदा उपचारका लागि स्थानीय घरमा पुग्ने गरेको अनुभव उनीसँग छ । ‘सामान्य रुघाखोकी, झाडापखालाजस्ता समस्या हुँदा पहिला–पहिला स्थानीय मसँग उपचार र औषधिका लागि आउनुहुन्थ्यो । उहाँहरूलाई उपचारको पहुँचमा लिएर समस्या समाधान गरिन्थ्यो’, उनले भनिन्, ‘
‘अझै पनि हामीले आफ्नो जिम्मेवारी बिर्सेका छैनौँ । गर्भवती महिला, बालबालिकाको भरणपोषण, खोपलगायतका महत्वपूर्ण कुरामा हामीले निगरानी गर्दै आएका छौँ ।’ महिला स्वास्थ्य स्वयंसेवक बबी रावललाई पुरानो अनुभव छैन । विसं २०७४ देखि महिला स्वस्थ्य स्वयंसेवकका रूपमा काम गर्दै आउनुभएकी रावलले पुराना महिला स्वस्थ्य स्वयंसेवकको जस्तो अनुभव लिन पाउनुभएन । त्यो बेलासम्म नागरिक सचेत भइसकेका थिए । बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मानसिकताको विकास भइसकेको थियो ।
‘स्वस्थ्य संस्थाबाट प्रवाह हुने सूचनाका बारेमा बुझ्न महिला घरमै पुग्ने गर्नुहुन्छ । त्यस्तो कुनै सूचना प्रवाह गर्नुपर्ने भए हाम्रो सक्रियता बढ्छ’, उनले भनिन्, ‘समुदायमा स्वयंसेवकको भूमिका अझै महत्वपूर्ण छ तर जुन भूमिका हिजो थियो त्यति गाह्रो भने छैन ।’ अहिले पहिलेको जस्तो अवस्था भने छैन । स्थानीय सरकारले पनि महिला स्वस्थ्य स्वयंसेवकलाई सहयोग गर्दै पनि आइरहेको छ ।
टीकापुर नगरपालिकाले ६० वर्ष पूरा भएका महिला स्वस्थ्य स्वयंसेवकलाई सम्मानसहित बिदाइ गरेको छ । यस वर्ष पनि दिव्यश्वरी र चन्द्रावती दुवैलाई जनही रु ८० हजार नगदसहित सम्मानपत्रसहित बिदाइ गरेको छ । नगरपालिकाले ६० वर्ष पुगेका महिला स्वस्थ्य स्वयंसेवकलाई रु ८० हजार नगद र सम्मानसहित बिदाइ गर्ने गरी कार्यविधि नै बनाएको नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारूले बताए ।
उनले स्वस्थ्य क्षेत्रको सफलतामा महिला स्वस्थ्य स्वयंसेवकको भूमिका महत्वपूर्ण रहेको बताए । ‘समाजको निर्णायक भूमिकामा महिला स्वस्थ्य स्वयंसेवक छन् । उहाँहरूको कामको जति प्रशंसा गरे पनि कम हुन्छ’, उनले भने, ‘कुनै सेवा सुविधाबिना पनि समाजका लागि गरेको योगदानलाई स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेको र आगामी दिनमा त्यसलाई अझै बढाएर लैजाने छ ।’
नगरपालिकाले यसभन्दा पहिला नगरपालिकाभित्रका एक सय २० महिला स्वस्थ्य स्वयंसेवकलाई मोबाइल सहयोग गरेको थियो भने अहिले महिनामा एक सयको रिचार्ज कार्ड र मासिक रु पाँच सय उपलब्ध गराउँदै आएको छ । साथै सङ्घीय सरकारले रु एक हजार उपलब्ध गराउँदै आएको छ ।
उनीहरूले वार्षिक रु १० हजार पोशाक भत्ता पाउने गरेको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया