‘प्रसाद’ का निर्देशक भन्छन्, ‘लै लै गीतले फिल्मको कथा बुझाउँदैन’

काठमाडौं । आउँदो मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ को गीत ‘लै लै’ बोलको गीत पछिल्लो समय चर्चामा  छ । निर्माण टिमले लिरिकल भिडियो सार्वजनिक गरेको थियो, ताकि फिल्मको कथा गीतमार्फत लिक नहोस् ।

यो गीतलाई दर्शकले असाध्यै रुचाए । गीतले प्रेमको बिम्बलाई बडो गज्जबले उठान गरेको र एउटा फरक सन्देश दिएको भन्दै  दर्शकले तारिफ गरे ।

तर, फिल्मका निर्देशक दिनेश राउतले भने यो फिल्ममा गीतले उठाएको भाव र फिल्मको भाव केही भिन्दै भएको बताएका छन् । ‘फिल्मको गीत हिट भएपछि कतिपय दर्शकले यस्तै क्यानभासको कथा होला भनेर सोच्नुभएको हुनसक्छ, त्यस्तो सोच्नुभयो भने फिल्मले निराश बनाउन सक्छ ।’, निर्देशक राउतले बताए ।

उनका अनुसार फिल्मको कथा र ‘लै लै’ गीतको ले बुझाउन खोजेको कथा केही भिन्दै छ । यद्यपि प्रेम र भाव भने मिल्दो छ । एकअर्कासँग सम्बन्धित नै छन् गीत र फिल्म ।

फिल्मले एक निः सन्तान दम्पतीको जीवनमा आएका अनेक आरोह–अवरोहलाई कथामार्फत प्रस्तुत गरेको छ । यो फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । चलचित्रको ट्रेलर, यसका गीत र संवादले फिल्म चर्चामा छ ।

यस्तै यो चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् भने दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?