‘ए’ डिभिजन लिग : बिहीवारबाट तेस्रो चरणको खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलि ‘बिहीवार’देखि तेस्रो चरणको खेल शुरु हुँदैछ । 

तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ । भोलि ‘बिहीवार’ दुई खेल सञ्चालन हुनेछ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम ‘एनआरटी’सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ मस्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ । तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको विश्रामपछि पुनः १० गतेदेखि चौथो चरणका खेल शुरु हुनेछन् । 

दोस्रो चरणका खेल सकिँदासम्म शत प्रतिशत नतिजा निकाल्दै थ्री स्टार शीर्ष स्थानमा छ, भने मनाङ दोस्रो तथा सङ्कटा क्लब अङ्क तालिकाको तेस्रो स्थानमा छ । तीनै टोलीको समान ६ अङ्क भएपनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ । 

विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जीत र एक बराबरीको नतिजापछि समान चार-चार अङ्कका साथ लिग तालिकाको क्रमशः चौंथो, पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् । 

दुबै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालिकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम ‘एनआरटी’ तालिकाको क्रमशः नवौँ र १० औँ स्थानमा छ । 

फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेड ब्बाइज दुबै खेल गुमाउँदै अङ्कविहीन बनेको छ । उनीहरू तालिकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् । 

लिगमा विभिन्न १४ टोली सहभागी छन् । राउण्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख तथा उपविजेताले ३५ लाख पाउनेछन् । 

तेस्रो हुन टोलीले २५ लाख, चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले पाँच लाख पाउनेछन् । फेयर प्ले टोलीले एक लाख पाउने छ । 

प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ द म्याच घोषित खेलाडीलाई  १० हजार पुरस्कार दिनेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?