राष्ट्रपतिलाई १८ करोडको गाडीको विरोधमा कलाकारको व्यङ्ग्य

काठमाडौं । राष्ट्रपतिलाई गाडी किन्न १८ करोड छुट्याइएको समाचार सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा जनताले चर्को विरोध जनाइरहेका छन् । सामाजिक सञ्जालमार्फत कलाकारले पनि उत्तिकै विरोध जनाइरहेका छन् ।

यसै सन्दर्भ पार्दै केदार घिमिरे, जितु नेपाल र दीपकराज गिरीले पनि व्यङ्ग्य गर्दै राष्ट्रपतिलाई अठार करोडको गाडी किन्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

राष्ट्रपतिलाई गाडी किन्ने बारेको समाचारमा हास्यकलाकार जितु नेपाल लेख्छन्, ‘१८ करोडमा २÷४ करोड थपेको भए हेलिकप्टर नै आउँथ्यो नि, सडक जाम पनि नहुने, यत्ति कुरा पनि मैले सम्झाउन पर्ने कठै सीधा सरकार ।’

उनको व्यङ्ग्यले राष्ट्रपतिको सवारीले जनताले भोगेको सास्ती र महंगो बजेट छुट्याइएको दुवै विषयलाई व्यङ्ग्य गरेको छ ।

यस्तै अर्का हास्यकलाकार केदार घिमिरेले पनि राष्ट्रपतिले १८ करोडको गाडी चढ्ने कुरालाई घुमाउरो किसिमले व्यङ्ग्य गरेका छन् । उनले गाडीलाई चामल नभएको बेला कसौँडी किन्न जरुरी नभएको भन्दै सामाजिक सञ्जाल फेसबूकमा व्यङ्ग्यपूर्ण स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘घरमा सबैलाई पुग्ने चामल नै छैन भने महंगो कसौँडी किन किन्ने?’

जितु र केदार मात्र होइन । अर्का कलाकार दीपकराज गिरीले पनि राष्ट्रपतिको गाडीलाई लिएर विरोध जनाएका छन् । उनले दीपाश्री निरौलालाई उदाहरण बनाउँदै भनेका छन्, ‘केही महिलाहरु साह्रै जिद्दी हुँदैछन् आजकाल, उहाँलाई पनि यो गाडी नभइ भएन रे !’

फिल्म ‘छक्का पञ्जा ३’ का लागि विदेश भ्रमणमा रहेका दीपक–दीपाले विदेशबाटै गाडी काण्डको विरोध जनाएका हुन् । सामाजिक सञ्जालमा पनि कम्युनिस्ट सरकार र राष्ट्रपतिको गाडीको विषयलाई लिएर निरन्तर विरोध भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?