काठमाडौं । सलक्क मिलेको ज्यान । पुग्दो हाइट । भलिबल खेलाडी कोपिला उप्रेती झट्ट हेर्दा नै खेलाडीझैँ देखिन्छिन् । पाँच फिट नौ इन्च अग्ली कोपिलाले आफ्नो स्वास्थ्य र खानपानमा पनि उत्तिकै ख्याल गर्छिन् । दैनिक शारीरिक व्यायाम गर्छिन् । आफूलाई फिट राख्ने खेलाडीमा दरिन्छिन् उनी ।
नेपाली समाजमा आजभोलि मान्छे झन् अल्छी बन्दै गइरहेका छन् । कसरत गर्दैनन् । भुक्क पेट बनाएर लुरुलुरु हिँड्छन् । कोपिलालाई भने खेल यात्राले ‘फिट’ रहनुपर्छ भनेर सिकाएको छ । कोपिला भन्छिन्, ‘हामी फिट चाहिँ हुनुपर्ने रहेछ ।’खेल सुधार्नका लागि फिट हुनैप–यो । आफूलाई हलुङ्गो राख्नैप–यो ।
जीवनको डेढ दशक भलिबल क्षेत्रमा लगानी गरेकी कोपिलाको जोश अझै पनि उस्तै छ । भलिबल खेलाडीमाझ उत्तिकै लोकप्रिय कोपिला कतिपय महिला खेलाडीका लागि आदर्श समेत हुन् ।उनीसँगै भलिबल करिअर शुरु गरेका साथीहरु आफ्नो वैवाहिक जीवन बिताइरहेका छन् । कोही आफ्नो जीवन चलाउन विदेश हानिएका छन् । कोपिलाले भने जीवनको उर्जावान् समय खर्चेको यो क्षेत्रको फिटिक्कै माया मार्न सकेकी छैनन् ।
उनी अहिले भलिबल खेल्दिनन् मात्र । अरुलाई सिकाउँछिन् पनि ।
नेपाल प्रहरीका तर्फबाट राष्ट्रिय स्तरको भलिबल खेल्ने कोपिला तालीम र ड्युटीपछिको बाँकी समय केही विद्यालय र सडक बालबालिकाको एक संस्थाका लागि छुट्याएकी छिन् । ‘बिहान उठेर जागीरमा जान्छु, तालीम पनि गर्छु, भलिबलका प्रतियोगिता पनि हुन्छन्, समय मिलाउनै गाह्रो छ ।’, कोपिला आफ्नो दैनिकी सुनाउँछिन् । फुर्सद भयो कि, उनको प्रशिक्षणका लागि तयार भइहाल्छिन् । आफ्नो प्रशिक्षण क्षमतालाई निखार्न उनी आउँदो डिसेम्बरमा नेदरल्याण्ड जाँदैछिन् ।
उनका कैयन् साथीहरु यो क्षेत्र छोडेर अन्य क्षेत्र अंगाल्न थालिसकेका छन् । तर, कोपिलालाई भने यो क्षेत्र फापेको छ । व्यस्तता सेलाएको छैन । खेल जीवन निरन्तर चलिरहेको छ ।
‘मेरो कमाइले भाइबैनी र आमालाई समेत सहयोग पुगिरहेको छ, विदेशिनुपर्ने अवस्था छैन,’ कोपिला अगाडि सुनाउँछिन्, ‘घरकी माइली छोरी हुँ तर, भूमिका जेठीको निभाइरहेकी छु’ कोपिला सुनाउँछिन्, ‘विवाह गर्दिन, भाइबहिनी नै मेरा छोराछोरी हुन् ।’
उनलाई विवाहप्रति कुनै रुचि छैन ।
आफ्ना बुबाआमाबीचको चिसो वैवाहिक सम्बन्धका कारण कोपिलालाई विवाहप्रति कुनै रुचि भएन । सानो उमेरमै विभिन्न घरायसी समस्याको बोझले थिचेको उनको शरीर बल्ल सफलताको न्यानो स्पर्शले तङ्ग्रिदैछ । यद्यपी, अहिले उनीसँग वर्तमानको खुसी र भविष्यको आशा भएतापनि बेलाबेला विगतका काँडाहरु बिझाउन आइरहने उनले बताइन् ।
सौतेनी आमालाई काखा, आफ्नी आमालाई पाखा
कोपिलाको बाल्यकाल त्यसरी नै बित्यो जसरी बाबुले दोस्रो विवाह गरेपछि हरेक बालबालिकाको बित्छ ।
दुई छोरीको जन्मपश्चात् कोपिलाका बुबाले छोराको आशमा दोस्रो विवाह गरे । घरमा सासुको पेलान, श्रीमान्को हेपाइ र सौताको हर्कत सहन नसकेर कोपिलाकी आमा आफ्ना साना छोरीहरुलाई घरमै छोडेर माइतीको शरणमा पुग्न बाधय पारिइन् । त्यसबेला आफू निकै सानो भएकाले आमाको आकृतिसमेत याद नभएको कोपिला बताउँछिन् ।
‘सौतेनी आमालाई नै आफ्नी आमा सोच्थ्यौं । बच्चै त थियौं, आफ्नै आमाले यस्तो नराम्रो व्यवहार किन गरेकी होला भनेर सोच्ने बुद्धि थिएन’ आफ्ना अतीतका तीतामीठा अनुभवलाई स्मरण गर्दै कोपिलाले भावुक मुद्रामा भनिन् ‘आफ्नै आमालाई त मामाघरको हजुरआमाको मृत्युसंस्कार मा मात्रै चिन्यौं । आमाले बोलाउनुहुन्थ्यो, हामी तर्किन्थ्यौं । किनकी उहाँ हामीलाई नयाँ लाग्नुभयो ।’
कोपिलासँग धुमिल याद छ, कान्छी आमाजस्तै आफ्नी आमाले पनि भाइहरुलाई जन्म दिएपछि उनका बुबाले जेठी श्रीमतीलाई जङ्गल नजिकै सानो झुपडी बनाएर राखे ।
त्यसपछि, कोपिलाकी दिदी र सबै भाइबहिनी आमासँगै बस्न थाले तर, कोपिला बुबा र कान्छी आमासँगै बसिन् । त्यसो त सौतेनी आमाको गालीगलौज, भेदभावपूर्ण व्यहोरा, झर्कोफर्को, निकै झेल्नुपर्यो । तर, उनी सानैदेखि विद्रोही स्वभावको भएकाले त्यस्तो व्यवहारको ठाडै विरोध गर्थिन्, आफ्नो हक खोसेरै लिन्थिन् । उनलाई त लाग्यो बच्चाले झगडा गरेपछि पक्कै परिवारको माया पाउँछ । तर त्यसो भएन ।
परिवारको दुर्दशा, विछिप्त मन र शहर प्रवेश
कोपिलाका बुबाले घरभन्दा अलि माथि बजारमा ‘फेन्सी’ पसल थापे । सानैदेखि हिसाबमा जान्ने भएकाले कोपिलाले पसल सम्हाल्न सक्ने अनुमानमा पढ्दै पसल चलाउन उनले छोरीलाई बजारको घरमा राखिदिए ।
सानैदेखि आमा र ‘आफ्नो’ परिवारबाट टाढाटाढै बसेकाले आफूलाई ऐया गरुन्जेल पनि आमाको स्नेह, दिदीको साथ, भाइबहिनीको माया कस्तो हुन्छ भन्ने अनुभव नै नभएको कोपिला बताउँछिन् ।
एसएलसीपछि पनि उनले एक वृद्ध दम्पत्ति कहाँ काम गर्दै पढिन् । बाहिरबाहिरै बसेकी कोपिलाले आइएपछि भने आफ्नै आमासँग बस्नुपर्ने अवस्था आयो । आफैले नदेखुन्जेल, नभोगुन्जेल घरको अवस्था त्यतिसम्म नाजुक छ भन्ने नसोचेको उनी बताउँछिन् । ‘चरम गरिबी, दिनरात हड्डी नघोटी खान नपाइने, टिबीबाट संक्रमित आमा, मानसिक रोगी दिदी, कलिला मुनाजस्ता भाइबहिनीले पढ्न पाएका थिएनन् । यी सबै दृश्यले त मलाई पागल नै बनाउन लागेको थियो ।’ उनले भावुक हुँदै ती क्षणहरु सम्झिन्, यो अवस्थापछि म घरबाट भागे । मलाई जसरी पनि त्यो दुखको दलदलबाट निस्किनु थियो । सोचेँे, शहर पसेर केही न केही बनेर मात्रै घर फर्किन्छु ।’
आमाको उपचार गर्न झापासम्म आएकी उनले आफ्नो जिल्ला पाँचथर बाहेक कुनै ठाउँ चिनेकी थिइन् भने त्यो झापा नै थियो । त्यसैले विवाहित बहिनीको घर जाने बहानामा उनी घरबाट भागिन् ।
झापामा उनकी सानिमाको घर थियो अनि, कान्छी आमाको माइती । काठमाडौंबाट घुम्न गएका मामा माइजुले (कान्छी आमा पट्टिको) आफूसँगै काठमाडौं जान अफर गरेपछि कोपिलाले रमाइरमाइ स्वीकारिन् ।
आफन्तको घरमा काम गर्ने देखि बस्ने ठाउँको अभावमा साँघुरो स्टोर रुममा सुकुल ओछ्याएर सुतेका जस्ता टीठलाग्दा अनुभवहरु उनीसँग बग्रेल्ती छन् । तर, काठमाडौं आएपछि तत्कालै आफू समस्याको भँड्खालोमा परे पनि निकट भविष्यमा यसले फाइदा नै पु-याएको अनुभूति उनलाई बल्ल हुन थालेको छ ।
शरीरले भलिबल नछुदै मनले ‘शट’ हानेको त्यो क्षण
कोपिलाले त्यो बेलादेखि भलिबल खेल्न शुरु गरिन् जुन बेला खेल्नु व्यवसायिक र नैतिक दृष्टिकोणबाट गौण मानिन्थ्यो ।
खेल शुरु गर्न जति च्यालेन्जिङ थियो त्यसलाई निरन्तरता दिन उत्तिकै गाह्रो भएको कोपिला बताउँछिन् । आफ्नो खेलजीवनलाई यति लामो समयसम्म निरन्तरता दिने निकै कम महिला खेलाडीको सूचिमा पर्ने भएकाले पनि आफूले यति धेरै माया र सम्मान पाएको उनको ठम्याइ छ ।
त्यसो त उनले भलिबल खेल्न २२ वर्षको उमेरदेखि मात्र शुरु गरेकी हुन् तर, शरीरले नखेले पनि आफ्नो मनले भने ९ कक्षामै पढ्दा देखि भलिबल खेलेको उनी सुनाउँछिन् ।
आफ्ना शिक्षकहरुले भलिबल खेलेको हेर्न छेउमा बसेकी कोपिला आफै खेलेजस्तै गरी जता बल गयो उतै शरीर मच्चाउने गरेको बताउँछिन् । ‘म ९ कक्षामा पढ्दा सरहरु भलिबल खेलेको देख्थेँ । खेल्न मन लाग्थ्यो तर, खेल्न नपाउने । छेउमा बसेर हेर्दा कहिलेकाहीँ आफ्नो छेउमा बल आउँथ्यो । हतारहतार उठाएर पास गर्थें’, आफूमा खेल्ने रुचिको विकास कसरी भयो भन्ने अनुभव सुनाउँदै उनी भन्छिन्, ‘मैले पहिलो चोटी भलिबल छोएको ९ कक्षामा हुँदा हो ।’
यसै दौरान एकरात उनको आँखामा निद्रा परेन बरु आफू चर्चित ‘भलिबल खेलाडी’ भएको कल्पना गर्दै उनी आफ्नै आत्मरतिमा रमाइन् । भलिबल खेल्ने सपना त त्यसै दिन टुसायो तर, देखेको सपना साकार गर्नलाई अवस्था र अवसर दुवैले साथ दिएन ।
बिथोलिएको पारिवारिक अवस्था देखेर झापा र झापाबाट काठमाडौं पुगेपछि मात्र आफूमा भलिबल खेलाडी बन्ने आँट पलाएको उनी बताउँछिन् । उनको उचाइ देखेर आफन्तले पनि भलिबल अथवा बास्केटबल खेल्ने सल्लाह दिए । उनले पनि रुचि देखाएपछि सोही आफन्तले उनलाई ढोरपाटन क्लबसम्म लगिदिए ।
ट्रेनिङ शुरु गरेपछिको अनुभव सुनाउँदै उनी अलिकति पीडा र अलिकति खुसी मिसिएको हाँसो हाँस्छिन् ‘शुरुका केही महिना खेलका नीतिनियम बुझेर ‘बेसिक स्किल’ सिक्नै लाग्यो तर, आफू अरु खेलाडीभन्दा कमजोर भएकाले नै मिहिनेत पनि डबल गर्थें ।’
ढोरपाटन क्लब, जावलाखेल क्लब हुँदै नेपाल पुलिसमा प्रवेश गरेर राष्ट्रिय खेलाडी भएको र अन्तराष्ट्रिय मैदानमा आफ्नो देशलाई विभिन्न पदक दिलाएको संघर्षमयी यात्रा अहिले उनलाई प्रिय लाग्छ ।
ट्रेनिङ गर्ने जुत्ता नभएर एउटै घरमा भाडामा बस्ने केटाको जुत्ता चोरेर लगाएको देखि बस भाडा नहुँदा घण्टौं हिँडेर क्लब गएको, जर्सी किन्ने पैसा नभएर साथीले किनिदिएको जस्ता अनगिन्ती तीता अनुभवहरुको सँगालो छ कोपिलासँग ।
जे होस् अहिले उनलाई आफ्नो जीवन भरिपूर्ण भएको फिल हुन्छ । खेल क्षेत्रमा आफ्नो उर्जाशील समय व्यतीत गर्दा सानाठूला धेरै सफलता उनको पोल्टामा परे । तिनै सफलतामध्ये माल्दिभ्सको एक भलिबल क्लबबाट व्यवसायिक खेलाडीका रुपमा खेल्ने अवसर पाउनु उनलाई सबैभन्दा ठूलो उपलब्धि हो जस्तो लाग्ने उनले बताइन् । ‘नेपालबाट विदेशी क्लबमा खेल्ने पहिलो महिला खेलाडी मै हो’, उनले पुलकित हुँदै भनिन्, ‘जम्मा सातवटा टुर्नामेन्टबाट ८ लाख कमाएको थिएँ । यसबाट मलाई ठूलो आर्थिक टेवा पुगेको थियो ।’
तिनै अनुभवहरुलाई याद गर्दा आजकल उनका आँखाबाट सन्तुष्टिको आँशु खस्छ । यी कुराहरु सेयर गरिरहँदा उनी त्यति नै खुसी भईन् जति घरबाट भागेको ३ वर्षपछि दशैँमा सबैका लागि गिफ्ट लिएर घर फर्किंदा रमाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया