चितवन । चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ । आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो । पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका थिए । योगले मानिसलाई तन्दरुस्त बनाउनका साथै सकारात्मक सोँच दिने भएकाले प्रहरीलाई योग प्रशिक्षण दिइएको हो । योग शिविर तीन घण्टासम्म चलेको थियो ।
पतञ्जलीका संरक्षक पूर्व नायब प्रहरी महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले बर्सेनि देशभरका प्रहरीलाई यस्तो शिविरमा सहभागि गराउने लक्ष्य लिइएको बताए । कार्यक्रममा पतञ्जली योग समिति चितवनका संरक्षक टङ्कनाथ पौडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सालको गोलियासहित मोटरसाइकल नियन्त्रणमा
चितवन प्रहरीले सालको गोलियासहित तीन मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । आज बिहान भरतपुर महानगरपालिका–११ भोजाडस्थित खगेरी पुल नजिकैबाट लुकाइछिपाइ पदमपुरतर्फ लैजाँदै गरेको काठ र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
नवजागृती सामुदायिक वनबाट पदमपुरतर्फ लैजाँदै गरेको ना १६ प २०५७, ना ६ प २६४२ र ग ४प ५९४३ नम्बरको मोटरसाइकल र उक्त मोटरसाइकलमा राखेर लैजाँदै गरेको तीनवटा सालको गोलिया नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार काठ तस्कर अस्थायी प्रहरीचौकी भोजाडबाट खटिएको टोलीलाई देखेपछि काठसहित मोटरसाइकल छाडेर भागेका थिए । काठ र काठ तस्करीमा प्रयोग भएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा लगेर थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया