काठमाडौँ । मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालित आरती स्ट्रिप्सले यहि मंसिर महिनाभित्रै टिएमटी फलामे डन्डी उत्पादन गर्ने भएको छ।
आरती स्ट्रिप्स प्रा.लिका अध्यक्ष सञ्जीव शर्माका अनुसार उद्योगबाट दैनिक ७ सय टन फलामे डन्डीको उत्पादन शुरु गर्न लागिएको हो। उद्योगले बजारको मागअनुसार ‘टाइगर’ र ‘प्राइम’ ब्रान्डमा ८ देखि ५० एमएम सम्मका टिएमटी छड उत्पादन गर्ने पनि उनले जानकारी दिए ।
सन् २००१ देखि जस्ता पाता मात्र उत्पादन शुरु गर्दै आइरहेको सो कम्पनीले हाल दैनिक ३ सय टन जस्ता पाता र ६० टन फलामे पाइपको उत्पादन गरिरहेको छ।
टिएमटी छडको कारखाना विस्तार गर्ने योजना ७ वर्ष पूरानो रहेको र त्यही बेलादेखि प्रक्रिया शुरु गरिएको पनि अध्यक्ष शर्माले बताए ।
यसका लागि ३ सय करोडको लगानी गरिएको छ । हालसम्म प्रति दिन ५ मेगावाट विद्युत् खपत गर्दै आएको आरतीलाई डन्डीको उत्पादन शुरु भएपछि १० मेगावाट चाहिने भएको छ ।
कुनै बेला वार्षिक ६ सय करोड रुपैयाँको जस्ता पाता निकासी गरेको आरतीको निकासी ३–४ वर्ष यता ३ सय करोडमा खुम्चिएको हो । तर, भूकम्पपछि नेपालकै मागलाई पूरा गर्न नसकेकाले निर्यात घटाउनु परेको शर्माले बताए ।
नेपालमा हाल रङ्गीन जस्ता पाताको माग प्रशस्त रहेको समेत उनले जानकारी दिए । डन्डी उत्पादनका लागि इटालीको डेनली कम्पनीबाट ल्याइएको मेसिन नेपालमा पहिलो भएको र यत्तिको अत्याधुनिक र स्वचालित मेसिन नेपालमा नभएको उनले उल्लेख गरे ।
उनले छडको उत्पादनदेखि बाइन्डिङसम्म अटोमेटिक मेसिनबाट हुने र चुम्बकीय पद्धतिको क्रेनबाट लोडअनलोड गरिने बताए ।
इटालीको मेसिन भएपनि छडको कच्चा पदार्थ बिलेट भने भारतमै उत्पादित हुनेछ । भारतको स्टिल अथोरिटी लिमिटेड, जिन्दल स्टिल वक्र्स लगायतका ठूला र ब्रान्डेड कम्पनीबाट बिलेटको आयात गरिने शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया