भोलि भात खान पाइन्छ भनेर लेखकले कहिलेसम्म फिल्म लेख्ने?

काठमाडौं । चलचित्र ‘लूट’ र सिक्वेल ‘लूट २’ निर्देशन गरेपछि निश्चल बस्नेतले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । बरु उनी म्युजिक भिडियो र फिल्म उत्पादन/अभिनयमा बढी सक्रिय छन् । उनी अभिनित फिल्म ‘प्रसाद’ यतिबेला रिलिजको तयारीमा छ । दर्शकमाझ ‘काले दाइ’ को परिचय बनाएका निश्चल ‘प्रसाद’ मा नेगेटिभ भूमिकामा छन् ।

‘लूट’ बनाएपछि परम्परागत नेपाली फिल्मको स्वादलाई फेरिदिएको भनेर चौतर्फी तारिफ बटुलेका निश्चलले ‘लूट २’ पछि नयाँ फिल्म निर्देशन गर्ने आँट गर्न सकेका छैनन् । कन्सेप्ट छ, तर त्यसका लागि उनी अझै तयार छैनन् । उनको बुझाइमा फिल्म त्यति हावादारी र सहज काम पनि होइन कि, एउटा लगानीकर्ता भेट्दैमा कच्चा कथामा फिल्म बनाइहालियोस् ।

उनलाई लाग्न थालिसकेको छ, नेपालमा फेरि उस्तै फिल्म रिपिट हुन थाले । भटाभट उस्तै फिल्म निर्माण हुने प्रक्रियाले नयाँ प्रयोग गरिएका फिल्म पनि दर्शकको रोजाइमा परेनन् ।

‘बजारमा चल्छ भनेर एकपछि अर्को उस्तै फिल्म बनिरहेका छन्, यस्तो बेलामा मैले पनि उस्तै फिल्म बनाउन चाहन्न, आफू पूर्ण विश्वस्त नभएसम्म नयाँ फिल्म निर्देशन गर्दिन ।’, निश्चल भन्ने गर्छन् ।

नेपाली बजारमा राम्रो फिल्म निर्माण गर्न केले रोकेको छ त? निश्चलका अनुसार यहाँ एउटा मात्र समस्या छैन । समस्यै समस्या छन् ।

फिल्म बनाउने माध्यम सजिलो भएर यहाँ नाम मात्रका सिनेमा बनिरहेका छन् । यो पनि फिल्म वृत्तको समस्यामध्ये एक हो ।

‘हुन त मैले एउटा फिल्म बनाएर त्यसले परिवर्तन ल्याउने होइन, तर म केही नयाँ ट्राइ गर्न चाहन्छु, भीएफएक्समा नेपालमा कसैले ट्राइ नै गरिरहेको छैन, अहिलेको भीएफएक्सको मेकिङ आफैलाई चित्त बुझिरहेको छैन,’ निश्चल अगाडि थप्छन्, ‘हामी मेकरले फिल्मलाई रियालिस्टिक बनाउन त खोज्यौँ, तर रियालिस्टिक बनाउन खोज्दा पनि धेरै अड्चन छन् ।’

उनका अनुसार नेपालमा राम्रो भीएफएक्सको ‘ट्राइ’ नै भएको छैन । यसका लागि ठूलो टिम चाहिन्छ, लगानी बढी चाहिन्छ, जुन अहिलेको फिल्म बजारका लागि उत्तिकै जोखिमपूर्ण पनि हो ।

त्यसो त केही कम्पनीले हलिउड फिल्मको भीएफएक्समा पनि काम गरिरहेका छन् । तर, बजेटका हिसाबले ती निकै महंगा हुन्छन् । फिल्म मेकरले भर्खरै तङ्ग्रिदै गरेको नेपाली सिनेमाको बजारमा भीएफएक्सका लागि छुट्टै बजेट छुट्याउन सक्ने अवस्थामा छैनन् ।

‘हलिउड फिल्मको समेत नेपालमा भीएफएक्स हुने गर्छ, हलिउडले त्यसवापत् राम्रो पैसा पनि तिर्छ, नेपालमा भने लगानीको हिसाबले त्यो सम्भव छैन,’ निश्चल नेपाली फिल्मको कथा नै कच्चा हुने गरेको बताउँदै भन्छन्, ‘यो त बिग बजेटको कुरा भयो, यहाँ कथामा कसले लगानी गरिरहेको छ? तीन करोडको फिल्म बनाइन्छ तर निर्मातालाई सोध्नुभयो भने लेखकलाई एक लाख दिएको बताउँछन्, त्यतिमा कुन लेखकले राम्रो फिल्म लेख्छ?’

पछिल्ला केही वर्षयता सिनेमामा कथाको खोजी हुन थालेपनि अझै फिल्म लेखकलाई राम्रो पैसा दिने चलन छैन । फिल्मको कथा राम्रो नभएसम्म फिल्म राम्रो हुँदैन भन्ने निर्माताले बुझ्न सकेका छैनन् ।

निश्चल फिल्ममा कथा स्तरीय भयो भने मात्र राम्रो फिल्म बनाउन सकिने बताउँछन् ।

‘हामीले गलत प्रक्रियाले फिल्म बनाइरहेका छौँ, पहिले फिल्मको कथा बलियो हुनुपर्ने तर हामीले यो कुरालाई ख्याल नै गरेनौँ,’ निश्चल भन्छन्, ‘जब लेखकले थोरै रकममा फिल्म लेख्नुपर्ने बाध्यता हुन्छ, उसलाई फिल्मको भन्दा घरभाडा तिर्नुपरेको, पेट्रोल सकिएकोजस्ता स–साना समस्याले पिरोल्ने गर्छ ।’

उनले अझ स्पष्ट पार्छन्, ‘फिल्म भनेको लेखकले सिर्जना गरेको संसार हो, उनीहरुलाई लेख्ने वातावरण कुन निर्माताले बनाइदिएको छ? भोलि भात खान पाइन्छ भनेर लेखकले कहिलेसम्म लेख्ने?’

फिल्मको लेखन मात्र हैन । फिल्म क्षेत्रमा दक्ष जनशक्तिसमेत नभएको निश्चल बताउँछन् । ‘यहाँ जनशक्ति हुँदै नभएको होइन, दक्ष जनशक्ति चाहिँ नभएकै हो, फिल्मको स्किृप्ट पनि तयार नहुँदै बजारमा बेच्न ल्याउँछन्, त्यस्तो कथामा कसरी राम्रो फिल्म बन्छ?’, निश्चल प्रतिप्रश्न गर्छन् ।

उनका अनुसार नराम्रो स्किृप्टबाट राम्रो फिल्म बनाउन उत्तिकै गाह्रो छ । अहिलेको बजारमा नब्बे प्रतिशत फिल्म कमेडी, जोक्स र बजारमा चलेका फिल्म चल्छन् भन्ने भ्रम सिर्जना भएको छ । कतिपय फिल्म त हलमा आएको र गएको समेत पत्तो हुँदैन ।

‘नब्बे प्रतिशत फिल्म बजारमा के चलेको छ भनेर बनाइन्छ, बाँकी दश प्रतिशत फिल्म राम्रा बनाउन खोजिन्छ तर यहाँ नेपाली फिल्म एकतमासले आएका बेला ती थोरै बन्ने फिल्म पनि हराउँछन्,’ निश्चल फिल्मको बजार केलाउँदै सुनाउँछन्, ‘यहाँ त फिल्म मेकरलाई आफ्नो फिल्म किन बनाएँ भन्नेसमेत थाहा हुँदैन, नबुझेरै फिल्म बनाइरहेका हुन्छौँ ।’

अहिले देखिएको सिनेमाका समस्यालाई त्यति सजिलै पार लगाउन सकिन्छ भन्ने पनि निश्चललाई लाग्दैन । उनलाई अहिले फिल्म मेकिङको बाटो त्यति सजिलो हुनुहुँदैन भन्ने लाग्न थालेको छ ।

नेपाली सिनेमा भन्नबित्तिकै नाक खुम्च्याउनुपर्ने अवस्था तिनै मेकरका कारणले आएको हो, जसलाई फिल्म किन बनाइँदै छ भन्ने समेत थाहा हुँदैन ।

निश्चल भन्छन्, ‘यहाँ सबैले छक्का पञ्जाको १६ करोड देखेर फिल्म बनाउँछन्, नब्बे वटा हावादारी फिल्म बनेका बेला एउटा राम्रो फिल्म बनेपनि त्यो फिल्म खल्लो लाग्छ, यहाँ त्यस्तै भएको छ ।’

तस्वीर: अर्घेलो थापा
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?